Logo

क्यामेरामा देखिइन् ‘हिमालकी रानी’



दोलखा, पुस २१ । दुर्लभ वन्यजन्तु अध्ययनका लागि जडान गरिएका क्यामेरामध्ये च्छोरोल्पा हिमतालभन्दा केही माथि पहाडको फेदीमा राखिएको एउटा स्वचालित क्यामेराले वयस्क हिउँ चितुवालाई यसैगरी तीन पटकसम्म कैद गर्छ। जब च्छोरोल्पा हिमतालभन्दा केही माथि आइपुग्छ, ‘हिमालकी रानी’ उपनामले परिचित हिउँ चितुवाको गतिविधि सुरु हुने गर्छ। आफ्नो क्षेत्रभरिको अवस्थिति बुझ्न उसले आङ तन्काएर केही सुँघिरहेको जस्तै दृश्यमा देख्न सकिन्छ।

गत असारदेखि भदौसम्मको कुरो हो यो। अध्यताहरूले रोल्वालिङ उपत्यकामा हिउँ चितुवा रहेको दाबी गरे पनि यसको प्रमाण भेटिएको थिएन। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले यो क्षेत्रमा हिउँ चितुवासहित संरक्षित र अन्य वन्यजन्तुको अनुसन्धान गर्न रोल्वालिङ उपत्यका वरपर गत असारमा १२ ओटा स्वचालित क्यामेरा जडान गरेको थियो।

ती १२ मध्ये च्छोरोल्पानजिक राखिएको क्यामेराले यो सुन्दर र वयस्क पोथी हिउँ चितुवाका तीन पटकमा ५६ ओटा तस्बिर कैद गरेको छ। असार १५, भदौ २२ र भदौ २६ गते गरेर तीन पटक कैद भएका ५६ तस्बिरमा अध्ययनका लागि सजिलो हुने गरी यो हिउँ चितुवाका गतिविधि खुलेका छन्। च्छोरोल्पा हिमतालनजिक पहाडको फेदमा यो स्वचालित क्यामेरा राखिएको स्थान चौरीहरू आवतजावत गरिरहने क्षेत्र हो। यहीं राखिएको क्यामेराले हिमाली ब्वाँसोसमेत फेला पारेको थियो।

संसारमै लोपन्मुख सूचीमा पर्ने हिउँ चितुवा नेपालको हिमालय क्षेत्रमा तीन सयदेखि चार सय हाराहारीको संख्यामा रहेको अनुमान संरक्षणकर्मीहरूको छ। संरक्षणकर्मीहरू हिउँ चितुवालाई ‘हिमालकी रानी’ को उपमा दिन्छन्। ‘यो आफैंमा सुन्दर छ,’ गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले भने, ‘हिमाली भेगमा पाइने मांसाहारी पशुमध्ये सबैभन्दा ठुलो भएका कारण यसले हिमालका अन्य जीवजन्तुको संख्या नियन्त्रण गर्ने गर्छ, त्यसैले संरक्षणकर्मीहरू यसलाई हिमालको रानी भन्न रुचाउँछन्।’ यसअघि संरक्षण क्षेत्रकै तिब्बती सीमावर्ती गाउँ लप्चीमा एउटा हिउँ चितुवा फेला परेको थियो।

६ महिनासम्म जडान गरिएका क्यामेराहरूले यो क्षेत्रमा सातवटा संरक्षित वन्यजन्तुहरू फेला पारेको अध्ययन टोली प्रमुख पाण्डेले बताए। रोल्वालिङ उपत्यकाको दूधकुण्ड, च्छोरोल्पा र यलुङमा जडान गरिएको तीन ओटा क्यामेराले हिमाली ब्वाँसोका पाँच पटकसम्म गरेर २७ वटा तस्बिर खिचेको छ।

सबैभन्दा अनौठो प्रायः निगालोको झाडीमा मात्र देखिने संरक्षित रेडपाण्डालाई बेदिङमा जडान गरिएको क्यामेराले भुइँमा हिडिरहेको अवस्थामा खिचेको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्