Logo

‘माहुरी म्यान’को दुःखेसो महको गुणस्तर प्रमाणित गर्ने ल्याब छैन



कास्की, २१ पुस । पोखरामा बेगनास माहुरी घार उद्योग सञ्चालन गरिरहेका सूर्यप्रसाद लामिछानेलाई सबैले ‘माहुरी म्यान’ भनेर चिन्छन् । कास्की लामास्वाँरामा किसान परिवारमा जन्मिएका लामिछानेले दुई दशकदेखि मौरीपालन गर्दै आइरहेका छन ।

कडा मिहिनेतपछि एक सयवटा मौरी घार तयार पारेका लामिछानेले भने, मैले यो व्यवसाय सुरु गर्दा मलाई कसैले पनि पत्याएका थिएनन् । माहुरीपालनलाई व्यवसायका रूपमा ढाल्न सकिएला भनेर । कास्कीमा माहुरीपालन व्यवसायमा रुचि राख्नेको सङ्ख्या धेरै छ । मह शुद्ध हो वा होइन भन्ने प्रमाणित गर्न नपाउँदा विदेश निर्यात गर्न नपाएको नेपाल मौरीपालन महासङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत भएका लामिछानेको भनाइ छ । विदेशीले बिनापरीक्षण वा प्रमाणीकरण नभएको कुनै चिज पनि प्रयोग नगर्ने हँुदा यहाँको मह बाहिर निर्यात गर्न नसकिएको उनको गुनासो छ ।

उनी भन्छन, “ल्याबको अभावमा महको प्रमाणीकरण गर्न नपाउँदा मह विदेश पठाउन सकिएको छैन । स्वेदशमा बिक्री गर्न बाध्य छौँ ।’’ महको नाउँमा केही डुलन्ते व्यक्तिले घरघरमा चिनीको चास्नी मिलाएर बेच्ने गरेकाले पनि महको गुणस्तरमा प्रश्न उठिरहेको उनको भनाइ छ । उनले कास्कीमा मात्रै सानाठूला गरी दुई सय मौरीपालक किसान र सात हजार पाँच सय आधुनिक मौरीका घार रहेको जानकारी दिए । पोखरा पर्यटकीय क्षेत्र भएकाले पनि महको माग दिन प्रतिदिन बढ्दो छ । माहुरीको अध्ययनका लागि भियतनाम, नेदरल्यान्ड, अमेरिका र जापानसम्म पुग्नुभएका लामिछानेले भने, विदेशमा हेर्दा नेपालमा माहुरीपालन हुनसक्ने प्रशस्तै सम्भावना देखिन्छ तर माहुरीपालन व्यवसायलाई राज्यले हेर्ने दृष्टि सकारात्मक छैन । उनले हाल एउटा माहुरीको घार र रानी माहुरीसहित १० हजार रुपियाँमा बेच्ने गरेको बताए । हालसम्म पाँच हजार गोला मौरी बेचिसकेका लामिछानेले माहुरीपालनबाट लाखौँ रुपियाँ कमाइसकेको छ ।

नेपालमा पेसाको पुस्तान्तरण हुँदा कृषि पेसाको विकास हुन नसकेको उनले बताए । उनले भने, नेपालमा बाबुले किसानी पेसा गर्छ, छोरालाई अर्कै पेसामा लगाउन त्यही अनुसारको विषय पढाउने चलन छ । अनि पेसामा व्यावसायिकता र पुस्तौँ विज्ञता हुँदैन तर विदेशमा बाबुले अँगालेको पेसामा नाति पुस्तासम्म लागिरहेका भेटिन्छन् । अनि त्यहाँ हरेक पेसाको विकास भएको छ र हरेक पेसाको मर्यादा छ । उनले भने, विदेशमा मौरीलाई सेन्सरले काम लगाएर मह उत्पादन गर्छन् तर हामी अझै ढुङ्गे युगमा छौँ । उत्पादित महको प्याकिङ, लेभलिङ र माकेर्टिङको सुरुवातसम्म पनि नभएको नेपालमा उनले पहिलो पटक योजनाबद्ध ढङ्गले काम गर्ने योजना बनाएको छ ।

उनले एक घारबाट एकपटकमा चार केजी महसम्म उत्पादन गर्ने गरेको बताए। उनका अनुसार सुदूरपश्चिमको डोटी, डडेल्धुरा, रुकुम रोल्पातिरका माहुरीले बढी मह दिने भएकाले ती मौरी ल्याएर नश्ल सुधार गरी उत्पादन वृद्धि गर्ने र समग्र मौरीपालक कृषकको आयआर्जन बढाउने योजना पनि उनले निर्माण गरेको छ । महको प्रयोग नेपाली समाजले गर्न नसकेको प्रति पनि उनको गुनासो छ । उनले भने, विदेशमा हरेक भान्सामा महको प्रयोग हुन्छ, हामी दाल, भात, तरकारी माछा, मासुलाई प्राथमिकता दिन्छौँ, महलाई कसरी खाने भन्ने ज्ञान पनि हामीसंँग छैन । यसको प्रयोग हरेक भान्सामा बढाउन जरुरी छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्