काठमाडौँ, २१ पुस । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हुन् । समिति गठन भएको डेढ वर्षमा बसेका एक सय ६८ वटा बैठकमध्ये दुईवटामा मात्र दाहाल उपस्थित भएका छन् ।
राज्य व्यवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेका विधेयक पटक–पटक छलफल भएका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भएका छैनन् । सीमा विवादमा छलफल गर्न समितिले बोलाउँदा पनि उनी आएनन् । कांग्रेस सभापति शेरबहादुर देउवा विकास तथा प्रविधि समितिको ५७ वटा बैठक बस्दा तीन पटक मात्रै उपस्थित भए । देउवा भदौदेखि कानुन, न्याय तथा मानवअधिकार समितिमा छन् । मंसिरमा समितिको बैठक तीन पटक बसेको छ । तर उनी कुनै पनि बैठकमा उपस्थित भएनन् ।
अर्थ समितिका सदस्य तथा कांग्रेस महामन्त्री शशांक कोइराला ६८ बैठकमध्ये तीन पटक मात्र उपस्थित भएका छन् । उपस्थित भए पनि उनी प्रायः बोल्दैनन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सदस्य कांग्रेस नेत्री सुजाता कोइराला डेढ वर्षमा नौ पटक मात्र उपस्थित भएकी छन् । कांग्रेसकै प्रकाशमान सिंह सोही समितिमा कम उपस्थित हुने सदस्यमध्येका हुन् । नेकपाका महासचिव विष्णु पौडेल अर्थ समितिका सदस्य हुन् । उनी मंसिरसम्म १४ पटक मात्र बैठकमा उपस्थित भए । संघीय समाजवादी अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी सार्वजनिक लेखा समितिमा सबभन्दा कम उपस्थित हुने सांसद हुन् । शीर्ष नेता मात्र होइन सांसदहरूको उपस्थिति नभएर बैठक स्थगित भएका उदाहरण धेरै छन् ।
कान्तिपुर दैनिकबाट