Logo

आज जिल्ला सभापति भेला, निर्णय सच्याउन देउवालाई दबाब



काठमाडौं, २१ पुस । कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार जिल्ला सभापति भेला बोलाएको छ। सहमति प्रयास भइरहेका बेला देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले त्यसलाई सच्याउनका लागि दबाबस्वरूप भेला तय गरेको हो।

‘जिल्ला सभापतिहरूसँग पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्छौं। उहाँहरूसँग परामर्श गर्न भेला बोलाएका हौं’, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले अन्नपूर्णसँग भने, ‘पुस ११ गतेको निर्णयले पार्टीलाई थप कमजोर बनाउने काम गरेको छ। बलियो कम्युनिस्ट पार्टी र सरकारको सामना गर्न सक्ने सशक्त कांग्रेस बनाउनुपर्ने अहिलेको आवश्यकता हो। यसकै लागि सभापतिसँग छलफल र परामर्श गर्नेछौं।’ भेला पार्टी मुख्यालय सानेपामा बिहान ११ बजे बोलाइएको छ।

केन्द्रीय कार्यसमितिको पुस ११ को बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक, विभाग संख्या दोब्बर बनाउनेलगायत निर्णय बहुमतबाट गरेपछि पौडेल पक्ष चिढिएको छ। पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले देउवालाई निर्णय सच्याउन दबाब दिँदै आएका छन्। देउवाले अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवशेन गर्ने, विभाग संख्या २८ बाट ४७ बनाउने तथा नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्ने निर्णय बहुमतका आधारमा लिएका थिए। क्रियाशील सदस्यता वितरणसम्बन्धी विधानको व्यवस्था निलम्बन गरी १४ औं महाधिवेशन प्रभावित गर्न खोजेको आरोप असन्तुष्ट समूहले लगाएको छ। उनीहरूले क्रियाशील सदस्यतासम्बन्धी नयाँ व्यवस्थाप्रति आपत्ति जनाएका छन्।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्