Logo

हारबिनमा बरफ तथा हिउँ महोत्सव



२१ पुस : यहाँ ३६ औँ हारबिन बरफ तथा हिउँ महोत्सव शुरु भएको छ । सो उत्सवमा भाग लिन चीन तथा चीनबाहिरका थुप्रै मानिस हारबिनमा भेला भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी हार्बिन नगर समितिको साइबर स्पेस एडमिनिस्ट्रेशन, हार्बिन संस्कृति तथा पर्यटन ब्यूरो र सिआरआई अनलाइनको संयुक्त आयोजनामा आइतबार शुरु भएको सो महोत्सवमा विदेशका विशिष्ट व्यक्तित्वको पनि सहभागिता छ ।

सो अवसरमा सहभागीले बरफमा कोरिएका कला र मूर्ति दृश्यावलोकन गरी आनन्द महसुस गरे । हारबिन बरफ तथा हिउँ संसार, ध्रुवीय मण्डप, स्नो एक्स्पो र स्किङ सो महोत्सवका मुख्य आकर्षण हुन् ।

विश्वको सबभन्दा चिसो शहर हारबिन एशियाको प्रसिद्ध सङ्गीत नगर पनि मानिन्छ जसलाई संयुक्त राष्ट्र सङ्घले सन् २०१० मा सङ्गीत राजधानी नाम दिएको थियो । हारबिन रुसी वास्तुकलाका लागि प्रख्यात छ । महोत्सवकै सिलसिलामा विश्व हिउँ तथा बरफ नगर गोष्ठी तथा हिउँ एवं बरफ पर्यटन उद्योग सम्मेलन पनि आयोजना गरिएको थियो ।

हेलङजियाङ प्रान्तको राजधानी हारबिन विगतमा चीनबाट रुस एवं युरोप प्रवेश गर्ने प्रमुख द्वार थियो । रुसी वास्तुकलाका लागि प्रख्यात चार लाख ५४ हजार ८०० वर्गमिलोमिटरमा फैलिएको सो प्रान्तमा करीब तीन करोड ६८ लाख जनसङ्ख्या छ । सो प्रान्तमा ३५ जनजाति रहन्छन् जो मत्स्यपालन, शिकार र पशुपालनबाट जीविका चलाउँछन् ।



प्रतिक्रिया दिनुहोस्