इश्वर कार्की, २१ पौष । नर्भिक अस्पतालको बेडमा कुसुम चौलागाईं मृत्युलाई जितेर पल्टिरहेकी थिइन् । छेवैमा आठ दिनको छोरा थियो । मृत्युलाई जितेर नवजात शिशुलाई समेत जित दिलाएकी थिइन् । त्यसैले कुसुम प्रफुल्ल थिइन् । सँगै थिए उनका पति युद्ध खड्का । जीवनकै सबैभन्दा ठूलो युद्ध जिते जसरी खुसी थिए । अकल्पनीय घटनापछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएकी कुसुमको तीन महिनाभन्दा लामो र जटिल उपचारको सफलतापछि बच्चा जन्मिएको थियो ।
साँढे पाँच महिनाकी गर्भवती कुसुम अचानक ढलेर अस्पताल पुर्याएकी थिइन् । विभिन्न अस्पतालले उपचार असम्भवप्रायः भनेपछि नर्भिक लगिएकी थिइन् । मस्तिष्कमा रहको नसाको एनोरिजम फुटेर मस्तिष्कमा रक्तश्राव भएको थियो । नशा फुलेर बेहोश भएकी कुसुमको जोखिम मोलेर जटिल शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रियामा संलग्न टोलीका नेतृत्वकर्ता वरिष्ठ न्युरोसर्जन डा. राजीव झा भन्छन्, ‘यो मेडिकल इतिहासमा विरलै हुने सफलता हो ।’ न्युरोसर्जन, एनेन्थिेसिया देखि स्त्रीरोग विशेषज्ञ सम्मको टोलीले कठिन मिहेनतबाट कुसुम चौलागाईं र गर्भको बच्चाको जीवनरक्षा गरेका थिए । मस्तिष्कको जटिल शल्यक्रियाका क्रममा पनि गर्भको बच्चालाई जोगाउने सफलता हासिल गरेका थिए ।
नियमित औषधी सेवन गर्दै आएकी कुसुमले १३ पौषमा स्वस्थ शिशुलाई जन्म दिंदा उनको परिवार मात्र नभई नर्भिक अस्पतालभरी खुशी छाएको थियो । वरिष्ठ न्युरोसर्जन राजीव झा भन्छन्, ‘यो मेडिकल साइन्सको इतिहासमा विरलै पाइने ठूलो सफलता हो ।’ उनका अनुसार दिमागको नशा सुकेर रक्तश्राव भएको मान्छेमध्ये आधा अस्पताल पुग्न भ्याउँदैनन् । अस्पताल पुग्दा पनि उपचारपछि २५ प्रतिशतमात्र बाँच्न सफल भएको तथ्य छ । त्यसमाथि पनि सामान्यतयाः १० देखि १५ जना मात्र सामान्य अवस्थामा फर्कन सक्छन् । गर्भवती महिलामा लाखौंमा एक जनालाई यस्तो समस्या हुनेगरेको र बाँच्ने सम्भावना अत्यन्त कम हुने उनको भनाई छ ।
झा भन्छन्, ‘आमा र बच्चालाई जोगाउन कठिन उपचारपद्धतिबाट सम्भव भएको हो ।’ मेडिकल साइन्सको इतिहासमा मस्तिष्कको नशा सुकेको गर्भवती दशौं लाखमा एकजनामात्र बाँच्ने सम्भावना रहनेमा कुसुम चौलागाईंको उपचारमा ठूलो सफलता हासिल भएको झाको भनाई छ । उनले भने, ‘यो नर्भिक अस्पतालको मात्र सफलता होइन, नेपालभित्रको मात्र नभई विश्वकै मेडिकल साइन्सका क्षेत्रमा ठूलो सफलता हो ।’
गर्भवती कुसुमको मस्तिष्कको शल्यक्रियाको नेतृत्व डा. राजीव झाले गरेका थिए । टोलीमा डा. राजेन्द्र श्रेष्ठ र डा. विकास शाहसति थिए । डा. अचला वैद्यले आमा र गर्भको बच्चाको उपचार गरेकी थिइन् । निकै मिहेनतका साथ तीन महिना लामो उपचारपछि कुसुमले स्वस्थ्य बच्चालाई जन्म दिएकी थिइन् । त्यो क्षण उनको जीवनकै सबैभन्दा खुशी क्षण बन्यो । बच्चालाई काखमा राख्दै उनले भनिन्, ‘जीवनमा आत्मबल महत्वपूर्ण रहेछ ।’ उच्च मनोबलकी कुसुमले नर्भिक अस्पताल र चिकित्सकहरुलाई आफ्नो जीवन रक्षा गरी स्वस्थ्य बच्चाको जन्म दिने अवस्था निर्माण गर्न सकेकोमा धन्यवाद दिइन् ।
कुसुमका पति युद्ध खड्का बच्चा जन्मिएको क्षण जीवनमा सबैभन्दा खुशीको क्षण भएको बताउँछन् । कठिन अवस्थामा अस्पताल पुर्याएकी कुसुमको उपचार भइकन बच्चालाई जन्म दिनसक्ने हुनु उनका लागि जीवनकै अविस्मरणीय क्षण बनेको छ । उनी भन्छन्, ‘अहिले आमा र बच्चा दुवै स्वस्थ छन् ।’ मस्तिष्कको शल्यक्रिया गरेकाले कुसुमले केही महिना नियमित औषधी सेवन गर्नुपर्ने हुन्छ । तैपनि, उनी सामान्य मानिस झै देखिन्छिन् । अनुहार उज्यालो छ भने मनोबल उच्च छ ।
मृत्युलाई जित्दै र जिताउँदै कसुम २१ पौषमा अस्पतालबाट डिस्चार्ज भइन् । उनको मुहारमा खुशी र मनभरी आत्मबल भरिएको देखिन्थ्यो । गर्भवती अवस्थामा बेहोश भएर मस्तिष्कमा रक्तश्राव भइसक्दा उनी अस्पतालमा जटिल शल्यक्रियाबाट नयाँ जीवन पाउन सफल भइन् । त्यसको तीन महिनापछि बच्चालाई जन्म दिएर अर्को नयाँ जीवन प्रदान गरिन् । नर्भिक अस्पतालको ३१७ नम्बर बेडबाट बिदा हुँदा उनले पति युद्ध खड्कासँगै सबैलाई हृदयदेखि धन्यवाद दिएर गइन् ।