काठमाडौं, २२ पौष । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सर्वसम्मतबाट राष्ट्रिय सभा उम्मेदवार चयन गरिएको बताएका छन् । उम्मेदवार चयनमा सबैको सहमति भएको र पार्टीमा योगदान गरेका र क्षमताका आधारमा तय भएको बताएका हुन् ।
‘विगतमा उम्मेदवार चयन गर्दा पनि सहमति भएको थियो र यसपटक पनि सर्वसम्मतबाट चयन गरिएको हो,’ महतोले रिपोर्टर्स नेपालसँग भने, ‘पार्टीको विधान र नीति अनुसार निर्णय भएकोले अब चुनाव जित्ने गरी अगाडि बढिएको छ ।’
उम्मेदवार चयनका लागि रकमको मोलमोलाई लागेकोबारे असन्तुष्ट पक्षले लगाएको आरोपबारे सोध्दा उनले भने, ‘यस्ता वाइयात कुराका पछाडि लाग्नुको तुक छैन ।’ राजपा विधिसम्मत तरिकाले चलेको भन्दै झिनामसिना कुरामा अल्झने कुरा नरहेको बताए ।
विगतमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र महेन्द्र राय यादवले भनेकै उम्मेदवारमा सर्वसम्मत तरिकाले सहमति बनेको र यसपटक पनि सर्वसम्मत भएको उनको दाबी छ ।
राजपाभित्र राष्ट्रिय सभाका उम्मेदवारहरु मृगेन्द्र सिंह यादव र शेखरकुमार सिंहको नाममा विवाद भइरहँदा महतोको पछिल्लो भनाई आएको हो । उनले आफू सबैलाई मिलाएर अगाडि बढिरहेको समेत बताए ।-File Photo