Logo

शेरबहादुर देउवाको विकल्प अधिवेशनमा खोजे भैगो नि- मोहनबहादुर बस्नेत, नेता नेका



काठमाडौं, २२ पौष । पूर्वमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । राजनीतिमा लामो अनुभव सँगालिसकेका बस्नेतले देउवाविरोधी समूहलाई पार्टीको महाधिवेशनमा चुनाव जित्न चुनौती दिएका छन् । बस्नेतसँग ऋषि धमलाले गरेको कुराकानीः
शेरबहादुर देउवाले पार्टी कमजोर बनाएर फुटाउन खोज्दैहुनुहुन्छ हो ?
म पनि २० वर्ष जिल्ला सभापति भइसकेको मान्छे हो । शेरबहादुर देउवाले पार्टी कमजोर बनाउने होइन । महाधिवेशन गराउने वातावरण बनाउन थाल्नुभएको हो । त्यसमा पनि असन्तुष्ट पक्षहरुले चाँडो महाधिवेशनको बटम लाइन घोषणा गर्नुपर्यो भन्नुभएको थियो, त्यो कार्यसमितिले गरेको छ । जतिसक्दो चाँडो महाधिवेशन गर्ने गरी पार्टी अगाडि बढिरहेको छ ।
तपाईंहरुले ल्याएको कार्यतालिका सच्याउनु हुन्छ कि हुन्न ?
उहाँले कार्यतालिका ल्याउँदा कहिले गर्ने गरी ल्याउने भन्नुभएको थिएन । खाली महाधिवेशनको कार्यतालिका आउनुपर्यो मात्रै भन्नुभएको हो । त्यसपछि २०७७ फागुन मसान्तभित्र गर्ने छलफल भयो । छलफलपछि फागुनको सुरुमै गर्ने भनेपछि त्यसलाई फेरि मंसिरमा ल्याउनुपर्छ भनिरहनुभएको छ । मंसिरमा नभएर फागुनमा हुँदा पार्टीलाई के त्यस्तो विपत् आइलाग्छ ? मंसिरमा सार भन्ने साथीहरुबाट जवाफ चाहियो ।
फागुन महिनाभित्र महाधिवेशन भएन भने के हुन्छ ?
म पनि कांग्रेसमा लागेको चार दशक भइसकेको छ । मैंलै पनि अलिअलि कांग्रेस बुझेको छु । शेरबहादुर देउवा पनि कांग्रेस बुझ्नुभएको मान्छे हो । फागुनमा गर्दा पत्तालमै भाँसिने र मंसिरमा गर्दा राम्रो हुने भन्ने केही छैन, ‘खोचे’ थाप्ने कुरा मात्रै हो । जुन समयमा महाधिवेशनको कार्यतालिका आएको त्यो अनुसार गर्ने गरी सबैले लाग्दा राम्रो हुन्छ ।
पौडेलको प्रस्ताव अनुसार मैसिरमै गर्न सकिँदैन ?
मंसिरमा गर्दैमा सबै समस्या समाधान हुने होइन, त्यो ‘खोचे’ थाप्ने कुरा हो ।
रामचन्द्र पौडेल र डा. शेखर कोइरालाले त सभापतिको विकल्प खोज्नुपर्छ भन्नुभयो नि ?
शेरबहादुर देउवाको विकल्प अधिवेशनमा खोज्दा भइगयो नि । हिजो पनि रामचन्द्र दाइ चुनाव लड्नुभएकै हो । त्यसकारण चुनावबाटै त्यसको विकल्प खोजे हुन्छ । पार्टीलाई अप्ठ्यारो पार्ने काम उतापट्टिबाट भइराखेको छ । जे भन्छन् त्यही मान्दा पनि नहुने । उहाँहरुकै कारणले गर्दा नेविसंघ बन्न सकेको छैन । विभाग बन्न सकेको छैन । अब यही ताल हो भने महाधिवेशन पनि समयमा हुन दिने छाँट छैन । अनि पार्टी कमजोर कसले बनायो ?
जिल्ला सभापतिहरुले निर्णय नमान्ने भनेका छन्, सच्याउनुहुन्छ ?
मैले अगाडि नै भनिसकेको छु । एक-दुई महिना अगाडि के कारणले सार्नुपर्यो, त्यसको औचित्य चाहियो ।
उहाँहरुले त फागुन महिनाभित्र समय सकिन्छ कथम् कदाचित् गर्न सकिएन भने के गर्ने भन्नुभएको छ ?
फागुनमा महाधिवेशन गर्दा कसरी पार्टी डुब्छ ?
सभापतिले निर्णय सच्याउनु हुन्छ कि हुन्न ?
यो निर्णय गल्ती भएर सच्याउनु पर्ने भएको होइन । महाधिवेशनमा आफ्नो डम्फु कसरी बजाउँने भनेर खोचे थापेको हो ।
डा. शेखर कोइरालाले त शेरबहादुर देउवा असफल भए, भन्नुभयो नि ?
त्यसोभए उहाँ चुनाव जितेर आएर सफल भए भैगो त । पार्टीको विधान अनुसार चुनाव जितेर आउनुपर्यो । जसले चुनाव जितेर आएपनि सफल भए त भैगो नि ।
सभापतिले असन्तुष्ट पक्षको कुनै सुनेनन् भन्ने गुनासो छ नि ?
ऋषिजी तपाईंलाई पनि जानकारी होला । सभापति रामचन्द्र दाइको घरमा पनि पुग्नुभयो । उहाँले सबै पदाधिकारीहरुसँग सल्लाह पनि गर्नुभयो । सहमतिको नाममा पार्टीको विधान समेत कमजोर बनाइएको छ । पार्टीमा सभापतीय प्रणाली नै कमजोर बनाएको छ । जसरी भ्रातृ, शुभेच्छुक संस्थाहरु अधिवेशन, पार्टीको विभाग गठनमा पनि सहमति खोज्दाखोज्दै आजसम्म यो हालतमा छ । असन्तुष्टी छ भने केन्द्रीय समितिमा आएर आफ्ना कुरा राख्ने कि बैठकै बहिष्कार गरेर बस्ने । मिटिङ नै बहिष्कार गरेर बाहिर–बाहिर हिड्नु लोकतान्त्रिक पद्धति हुन्छ ? छलफल नआएको सभापति होर उहाँहरु नआएको हो नि ।



प्रतिक्रिया दिनुहोस्