Logo

‘न्यायालयले अन्याय गर्‍यो, पीडकले उत्सव मनाए’ अनि नग्माले नेपालगन्ज छाडिन्



काठमाडौँ, २३ पुस । म जन्मिँदा हाम्रो घरको आर्थिक अवस्था अहिलेको जस्तै हुन्थ्यो भने अब्बाले मलाई स्कुल पठाउनुहुन्थ्यो,’ घरभन्दा निकै पर काठमाडौं सहरमा बसेर बुबाको न्यानो मायाबारे सुनाउँदा उनको आँखाबाट तातो आँसु बगिरहन्छ । त्यतिखेरको अवस्था राम्रो थिएन, घरकी जेठी छोरी उनले पढ्न पाइनन् । नेपालगन्ज वनघुस्राकी २२ वर्षीया नग्मा परिवर्तित नामको पढ्ने रहर त्यत्तिकै हरायो ।

न्यायका लागि सर्वोच्चको ढोका घचघच्याउन राजधानी आइपुगेकी पीडित

उनीमुनिका बहिनी र भाइ त अहिले स्कुल जान्छन् । उमेरले १८ वर्ष टेक्दाटेक्दै चार वर्षअघि उनको वनघुस्रामै बिहे भयो । ‘अगलबगलमै छ मेरो माइती र घर,’ नग्मा सुनाउँछिन् । २६ जनाको ठूलो परिवारमा एउटै चुलोचौका चलाउन असहज भएपछि नग्मा र उनका श्रीमान्ले अलग भान्सा गर्न थाले । खुब खुसी देखिन्थ्यो यो जोडी ।

श्रीमान्ले माइतीकै डोजर चलाउँथे, उनी घरमै । जिन्दगीसँग कुनै गुनासो थिएन । न त गुनासो थियो परिवार, आफन्त र समाजसित । एउटै कुरा स्कुल गएर पढ्न नपाएको थकथकी भने मनमै थियो, अहिले पनि छ । गत कात्तिक १३ गते नग्मा आँखा जँचाउन श्रीमान्सँगै फुलटेक्रा आँखा अस्पताल पुगिन् । दिउँसो १ बजेतिर आँखा जाँचिसकेपछि उनका श्रीमान् नेपालगन्ज गए, उनी घर । अस्पताल जाँदा लगाएको बुर्का खोलिसकेकी पनि थिइनन् । दुई जना चिनजानकै मान्छे उनको कोठाभित्र छिरे । उनी घरमा कोही पनि छैनन्, किन आएको भनेर सोध्दैथिइन् । ती दुई पुरुषको जवाफ आइहाल्यो, ‘कोही नभएकाले त हामी आएका हौं ।’ स्थानीय दुई पुरुषहरू निजामुद्दिन साई र मुबारक नाउले घरमा भएको सबै गरगहना र नगद मागे । नदिए जे पनि गर्न सक्ने धम्की दिए । उनले दराजमा भएको नगद र गरगहना सुम्पिइन् । ‘यतिमात्रै लिएर जाँदा यसले प्रहरीमा उजुरी गर्न सक्छे,’ उनीहरूको सरसल्लाह थियो, ‘बरु यसलाई नै लिएर जाऔं, सबै काम उतै गरौं ।’

नग्माको ढुकढुकी झन्झन् बढ्दै गयो । साई र नाउले संकेत गरेको त्यो उतै भारतको रुपैडिया रहेछ, उनीहरूले मोटरसाइकलको बीचमा नग्मालाई राखे । पिप्रहवा गाउँ हुँदै रुपैडिया र रुपैडियाबाट अरू दुई पुरुषले दिल्ली पुर्‍याए । रुपैडिया हुँदै दिल्ली पुग्दासम्मको घटना उनको स्मरणमा छैन । किनभने उनीहरूले दिएको बिस्कुट र जुस खाएपछि नग्मा बेहोस भएकी थिइन् । उनी जब होसमा आइन्, ती दुई पुरुषले आफूलाई निर्वस्त्र पारेर खिचेको भिडियो देखिन् । आफूहरूले भनेझैं नगरे भिडियो सार्वजनिक गरिदिने धम्की ती पुरुषहरूले दिइरहेका थिए । नग्मालाई ‘इज्जत’ को डर लाग्यो । उनी ती पुरुषले जसोजसो भन्छन्, त्यसै गर्दै गइन् । त्यतिन्जेलसम्म नग्मालाई उनका गाउँले निजामुद्दिन र मुबारकले एक लाख भारतीय रुपैयाँमा बेचिसकेका थिए । ती अन्जान दुई पुरुषले उनलाई एकजना महिलामात्रै भएको नयाँदिल्लीको एउटा कोठामा पुर्‍याए । पालैपालो बलात्कार गरे । त्यतिखेर उनीहरूले नजामुद्दिनसँग गरेको कुराकानी अहिले पनि उनको दिमागमा झनझनाइरहन्छ । ‘उसको घरमा फिरौतीको कुरा भइरहेको छ, मिल्छ कि मिल्दैन तर अहिले नै त्यसै नछोड्नू,’ यताबाट फोनमा गएको आवाज उनले प्रस्ट सुनिन् । यो कुरा जिल्ला प्रहरी कार्यालय नेपालगन्जले गरेको कल डिटेल्स अनुसन्धानले पुष्टि गरिसकेको छ । त्यतिखेर उनले जे भोगिन्, अहिलेको बयानबाट अनुमान गर्न सकिँदैन । ती दुई पुरुषले उनलाई कोठामै छाडे, बाहिरिए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्