Logo

‘सूचना पहुँचबाटै समृद्धि’



काठमाडौँ, २३ पुस । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारको संलग्नता र सहकार्य हुनुपर्ने बताएको छ । समृद्ध नेपाल बनाउन योजना निर्माण र कार्यान्वयनमा उनले जोड दिए । परिवर्तित प्रणालीअनुरूप नीति बनिनसक्दा चाहे जसरी कार्यान्वयनमा जान नसकिएको उनले चर्चा गरे ।

राष्ट्रिय सरोकार तथा समन्वय समिति राष्ट्रिय सभा र जनसङ्ख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्च नेपालद्वारा मङ्गलबार आयोजित समावेशी विकास र समृद्धि विषयक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अभ्यास र आवश्यकताको अन्तरविरोधलाई चिर्दै विकास र समृद्धिका लागि अघि बढिरहेको दाबी गरे । उपप्रधानमन्त्री पोखरेलले भने, “समृद्ध नेपाल, खुसी नेपाली अमूर्त नारा होइन, उत्पादन वृद्धि, रोजगारी, सीप विकास, स्वरोजगारबाट राष्ट्रिय पुँजी निर्माण गरी समाजवादमा जानका लागि हो, अहिले हामी यही विषयमा केन्द्रित छौँ । ” कृषि, उद्योग, ऊर्जा, पर्यटन र पूर्वाधारको विकास समृद्ध नेपाल खुसी नेपालीको आधार भएको उनको भनाइ छ ।

निर्वाहमुखी कृषि प्रणालीबाट आधुनिकीकरणमा जाने र जमिनमाथिको स्वामित्वलाई व्यवस्थित गर्ने अहिलेको आवश्यकता रहेको उनले चर्चा गर्नुभयो । त्यसका लागि विकासमैत्री सरकारी नीति र वातावरण, सहकारी र निजीबीच सहकार्य र सहभागिता, मिहिनेती जनता र जनसहभागिता, इमानदार कर्मचारीको आवश्यकता रहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्