Logo

एआइजी बढुवा सिफारिस विवादमा



काठमाडौं, पुस २३ । नेपाल प्रहरी अस्पतालको प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा परेको छ। गृह मन्त्रालयले प्रहरी अस्पतालमा कार्यरत डिआइजी डा मिनराज पाठकभन्दा कनिष्ठ डा आशा सिंहलाई बढुवा सिफारिस गरेका कारण विवादमा परेको हो।

प्रहरी अस्पतालको एआइजीमा बरीयताक्रममा दोस्रो नम्बरमा रहेकी सिंहलाई गृह मन्त्रालयले बढुवा सिफारिस गरेको थियो। त्यसविरुद्ध डा पाठकले लोकसेवाको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरीसमेत दिएका छन्।

उनले आफूभन्दा बरीयतामा दोस्रो नम्बरमा रहेकी सिंहको बढुवा बदर गर्न आवश्यक छानबिन गर्नसमेत माग गरेका छन्। बालरोग विशेषज्ञ रहेका डा पाठक र उनीसँगै डिआइजीमा बढुवा भए पनि सिंह बरीयतामा दोस्रो नम्बरमा रहेकी थिइन। २०५२ सालमा प्राविधिक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पाठक डिएसपी, एसपी, एसएसपी र डिआइजी बढुवासम्म सधैं पहिलो नम्बरमा रहेका थिए। आफूलाई पछिल्लो ३ आवको कार्यसम्पादन मूल्यंकनमै अन्याय गरिएको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन्।

प्रहरी नायब उपरीक्षक डएसपीदेखि नायब महानिरीक्षक डिआइजीसम्मका हरेक दर्जामा म आफ्नो सहकर्मीमाझ वरिष्ठतम भई आएकोमा डिआइजीबाट एआईजीमा बढुवा नदिन षड्यन्त्रपूर्वक कार्यसम्पादन मूल्यांकनमा मलाई अस्वभाविक रुपले कम नम्बर दिएको शंका लागेको हुँदा कम नम्बर दिनुको कुनै जायज कारण नभएको र कुनै विभागीय कारबाही नभएको तथा आफ्नो पदीय दायित्व अनुरूप काम गर्दागर्दै पनि मेरो नाम बढुवाका लागि सिफारिस नभएकोले यो निवेदन न्यायका लागि पेस गरेको छु,’ डिआइजी पाठकले लोकसेवामा दिएको निवेदनमा भनिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्