Logo

चार महिनामा ५ अर्ब विदेशी लगानी



काठमाडौँ, २३ पुस । चालु आर्थिक वर्षको चार महिनामा करिब ५ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी एफडीआई नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १६ प्रतिशत बढी हो । ०७५ कात्तिकसम्म यस्तो लगानी ४ अर्ब २३ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष पहिलो चार महिनामा विदेशी लगानी बढेको छ । सो अवधिमा लगानी वृद्धिदर भने साघुरिँदै गएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनमा १ करोड २९ लाख रुपैयाँ विदेशी लगानी मुलुक भित्रियो । ०७५ साउनको तुलनामा चालु आवको सोही अवधिमा विदेशी लगानी ३८१ प्रतिशत बढेको थियो । गत भदौसम्म १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी आयो । त्यो करिब ६१ प्रतिशतको वृद्धि थियो । त्यसपछिका दुई महिना असोज र कात्तिकमा विदेशी लगानीको वृद्धिदर क्रमशः १५९ र १६ प्रतिशत रह्यो । यसको अर्थ पछिल्ला महिनामा विदेशी लगानी वृद्धिदर घट्दो दरमा छ भन्ने हो । मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको समयमा पनि गत वर्षभर ठूलो मात्रामा लगानी घटेको थियो । यसकारण गत वर्षको तुलनामा यो वर्ष लगानी वृद्धिदर धेरै देखिएको हो । यो वर्ष परिस्थिति बदलिएको छ । मुलुकमा लगानी वातावरण सुध्रिँदै गएकाले विदेशी लगानी बढ्ने जानकारहरू बताउँछन् ।

यो वर्षमा भित्रिएको एफडीआईमध्ये धेरै जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा आएको छ । यसले ती क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टि हुन्छ । प्रशस्त सम्भावना हुँदाहुँदै पनि प्रायः जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेको विज्ञहरूको भनाइ छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्