Logo

प्राविधिक शिक्षालयका सहायक सहित तीन जनाविरुद्ध अख्तियारको मुद्दा



काठमाडौ, २३ पौष । कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक पदमा कार्यरत गंगाराज शाहीसहित तीन जनालाई अख्तियारले मुद्दा दायर गरेको छ । भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्यितारले जनाएको छ ।

शाहीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षा कार्यक्रम अनुसार कर्णाली प्राविधिक शिक्षालयमा संचालित कृषितर्फको डिप्लोमा प्रथम वर्षको बाह्य परीक्षामा परीक्षार्थीको उत्तरपुस्तिकाहरु परिवर्तन गरी अनियमितता गरेको भन्ने उजुुरी गरिएपछि पक्राउ गरिएको थियो ।

गंगाराज शाही र कर्णाली प्राविधिक शिक्षालयका परीक्षा सहायक तथा उक्त परीक्षाका निरीक्षक चन्द्रसिंह खत्रीले एकआपसमा मिलेमतो गरी अङ्ग्रेजी विषय बाहेक अन्य सबै विषयको परीक्षामा खाली उत्तरपुस्तिका तथा प्रश्नपत्र परीक्षा हल बाहिर पठाई गैरपरीक्षार्थी टंकप्रसाद चौलागाईलाई उत्तर लेख्न लगाएको अभियोगमा अख्तियारको नियन्त्रणमा परेका थिए ।



प्रतिक्रिया दिनुहोस्