Logo

तुइन तरेको एक सय रुपियाँ



काठमाडौँ, २४ पुस । सरकारले देशैभरबाट तुइन विस्थापित गर्ने घोषणा गरेको डेढ वर्ष पुगिसक्दा पनि हुम्लामा भने एक जना मानिसले तुइन तरेको शुल्क एक सय रुपियाँ तिर्नुपरेको छ । पैदलयात्रुले आउजाउ गर्नुपर्ने तर झोलुङ्गे पुलको व्यवस्था नभएपछि छोटो दूरीमा आउजाउ गर्न व्यक्तिले निर्माण गरेका तुइनहरू तर्नुपर्ने भएपछि यात्रुले सो शुल्क तिर्नु परेको हो ।

खार्पुनाथ गाउँपालिकाको बोक्चे गौडामा तुइन तरेको एक सय रुपियाँ शुल्क तिरेको यात्रु मनबहादुर फडेराले बताए । कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पु सुनखाडा खण्डको बोक्चे गौडामा सडक निर्माणका क्रममा बाटो अवरुद्ध भएपछि पैदलयात्रु चर्को शुल्क तिरेर तुइन चढ्न बाध्य छन् । बोक्चे गौडामा असजिलो बाटो पार गर्न कठिन भएपछि स्थानीयले व्यक्तिगत रूपमा निर्माण गरेको तुइन तर्न पैसा तिर्नुपरेको छ ।

हुम्लामा कर्णाली नदीमा अहिले पनि आधा दर्जनभन्दा बढी स्थानमा तुइन तर्नुपर्ने अवस्था छ । तुइनमा एकातिर आर्थिक व्ययभार त छ नै अर्कोतिर ज्यानको जोखिम उत्तिकै मोलेर यात्रुले यात्रा गर्नु परिरहेको छ । अप्ठ्यारो बाटोमा जोखिम मोलेर हिँड्न नसकिने, घुमेर जान लामो बाटो हिँड्नुपर्ने भएपछि पैदलयात्रु बाध्य भएर पैसा तिरेर तुइन चढ्नुको अन्य विकल्प नभएको हो । सो तुइनमा दैनिक ठूलो सङ्ख्यामा यात्रुले तर्दै आएका छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्