Logo

थारु समुदायमा‘भलमन्सा’ चुन्ने तयारी, ‘वडघर’ बैठक बस्दै



धनगढी, २४ पुुस : कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी एकदशकदेखि गाउँको ‘भलमन्सा’ पदको जिम्मेवारीमा बसेर समुदायको नेतृत्व गरिरहेका छन् ।

परम्परागतरुपमा गाउँको रेखदेख गर्नुपर्ने मुख्य जिम्मेवारी बहन गर्नुपर्ने ‘भलमन्सा’ पदमा उहाँको परिवारका सदस्यले दशकौँदेखि बसेर समुदायको नेतृत्व गर्दै आएको छ । “बाजे हीरालाल चौधरी, बुबा बाबुराम चौधरी र जेठो दाजु प्रेमलाल चौधरीले पालैपालो समुदायमा भलमन्सा पदको जिम्मेवारीमा बसेर नेतृत्व गरे”, मानबहादुरले भने, “बाजे, बुबा र जेठो दाजुको निधनपछि आफूले नेतृत्व गर्दै आएको छु ।”

कार्यव्यस्तता बढ्दै जाँदा उक्त पदमा बस्ने इच्छा आफूलाई नभए पनि समुदायले पुनः सोही पदमा बस्न आग्रह गर्दै आएका छन् ।उनले भने, “अरु व्यक्तिबाट समुदाय चल्न नसक्ने भएकाले पुनःसो पद सम्हाल्न तयार हुनुपर्छ भनेर गाउँलेबाट आफूलाई आग्रह भइरहेको छ ।” पूरै वडाको हकमा निर्वाचित जनप्रतिनिधिको भूमिका रहन्छ । समुदायको गाउँ टोलको हकमो बढी भूमिका सम्बन्धित गाउँको भलमन्साको हुने गरेको बताइन्छ ।

गाउँमा आइपरेका यावत समस्या समाधानका साथै विकास सम्बन्धी काम अघि बढाउन निर्वाचित जनप्रतिनिधिले आफ्नो सल्लाह बमोजिम काम गर्ने गरेको कतिपय भलमन्साको दाबी छ । हसुलिया गाउँमा भने यसपाली सबैले मान्ने व्यक्तिलाई भलमन्सा बनाउने तयारी गरिएको छ । यसअघि सो गाउँको भलमन्सा पदमा बसेर स्वेच्छाले छोड्नुभएका रामबहादुर चौधरीले हालका भलमन्सा सुकदेव चौधरीको काम गर्ने शैलीप्रति विरोध आएकाले नयाँ व्यक्तिलाई भलमन्सा बनाउने तयारी भएको बताए ।

“उनले वडा सदस्यको मातहतमा बसेर काम गर्ने गरेको, गाउँमा आइपरेका समस्याको समाधानमा पहल नगरी आफूखुशी ढङ्गले हिँडेको गुनासो छ”, रामबहादुरले भने, “नयाँ भलमन्साको छनोट गर्न भित्रभित्रै तयारी तीव्र भइसकेको छ ।” कैलारी गाउँपालिकाको भितरिया गाउँमा भने माघ १ गतेपछि मात्र भलमन्सा चयन गर्ने तयारी छ ।

भितरिया गाउँका भलमन्सा सन्तबहादुर चौधरीले अरु ठाउँमा तयारी भइरहेको सुनिए पनि आफ्नो गाउँमा माघ लागेपछि मात्र तयारी हुन लागेको बताए । थारु समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वको तयारीसँगै यतिबेला गाउँ बस्तीमा भलमन्सालगायतका पदमा कसलाई छनोट गर्ने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ ।

यस क्रममा आवश्यकताअनुसार ‘वडघर’ बैठक बस्ने गरेका छन् । वर्ष दिनमा गाउँ टोलमा भएका कामका बारेमा आपसमा छलफल, विश्लेषण, टीकाटिप्पणीसमेत हुन थालेको छ । ‘माघी’ अर्थात् माघे सङ्क्रान्तिलाई यो समुदायमा नयाँ वर्ष आरम्भका रुपमा उल्लासपूर्वक मनाउने गरिन्छ ।

वर्षभरि भएका कामको समीक्षा गर्ने, हिसाबकिताब गर्ने र चुक्ता गर्ने, नयाँ खाता सञ्चालन गर्ने जस्ता काम गरिने हुँदा थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा मनाउने गरिएको हो ।

गाउँको मुख्य व्यक्तिका रुपमा ‘भलमन्सा’का अलावा गुरुवा, चिराकी, चौकिदार, अघरिया जस्ता पदमा समेत विभिन्न व्यक्तिको छनोट गर्ने गरिन्छ । ‘गुरुवा‘ (वैद्यको काम गर्ने)ले मानिस, गाईवस्तु र अन्न बालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ ।

‘चिराकी’ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजाको काम काम गर्छ । ‘चौकीदार’ले कुनै कामका लागि भेला बोलाउनुपरेमा गाउँका मान्छेलाई हाँक (बोलाउने)को काम र ‘अघरिया’ले भलमन्साको सहायकका रुपमा काम गर्ने गर्दछ ।

गाउँको भलमन्सा पदमा चुनिने व्यक्तिको घरलाई यो समुदायमा ‘वडघर’का रुपमा चिन्ने गरिन्छ । सकेसम्म सर्वसम्मतिमा र त्यसो हुन नसके निर्वाचन वा गोलाप्रथाले पनि यो समुदायमा भलमन्सा छनोट गर्ने गरिन्छ । वडघरले लाए अहराएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने सदियौँदेखिको प्रचलन थारु गाउँमा रहने गरेको छ ।

यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभई गाउँको अनुशासन पनि कायम गर्नमा टेवा पुग्ने गरेको थारु बुद्धिजीवी प्रभातकुमार चौधरीले बताए।
थारु गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्व रहने गरेको उनको भनाइ छ ।

समग्र गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक सहयोग गर्ने गराउने यावत् काम गाउँको नेतृत्वकर्ता (भलमन्सा)ले गर्ने गर्दछन् । भलमन्सा लगायतका पदमा काम गर्दै आएका व्यक्तिको ‘घर फाटे‘मा(अंशबण्डा भएमा)निजलाई सकभर उक्त पदको जिम्मेवारीबाट मुक्त गरिन्छ । अंशबण्डा भएर अलग घर बनाएर बस्नुपर्ने अवस्थामा निजले आफ्नो घरको जिम्मेवारीका साथै भलमन्सा लगाएतका पदको जिम्मेवारी बहन गर्न नसक्ने हुँदा भलमन्साको जिम्मेवारीमा रहेका व्यक्तिलाई जिम्मेवारीबाट मुक्त गर्ने गरिन्छ ।

भलमन्सा पदको जिम्मेवारी बहन गर्ने अधिकांशले स्वयंसेवीका रुपमा काम गर्ने गरेका छन् । कतिपय गाउँमा भने यो पदमा बसेर काम गर्नेलाई समुदायको निर्णयअनुसार पारिश्रमिकका रुपमा खाद्यान्न उपलब्ध गराउने गरिन्छ ।

यसैबीच धनगढी उपमहानगरपालिकाको जालीगाउँमा यही पुस २९ देखि माघ ३ गतेसम्म ‘माघी मेला महोत्सव‘को आयोजना गर्न लागिएको छ । महोत्सवका क्रममा पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताका साथै थारु कलासंस्कृति, परम्परा, वेषभूषा, झल्किने क्रियाकलाप हुन लागेको आयोजक न्यू उपदेश क्लबका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्