Logo

बारबर्दियाबाट नगर स्वास्थ्य ऐन जारी



राजापुर, २४ पुस  l बारबर्दिया नगरपालिकाले नगर स्वास्थ्य ऐन, २०७६ पास गर्दै हिउँदे नगर अधिवेशन सम्पन्न गरेको छ । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा राखेसँगै नगरपालिकाले नगर स्वास्थ्य ऐन, २०७६ पास गरी नगरवासीको स्वास्थ्यको अधिकारलाई थप ऊर्जाशील बनाएको हो ।

नगर स्वास्थ्य ऐनमा नगर स्वास्थ्य समिति, नगर अस्पताल, वडास्तरमा रहेका स्वास्थ्य संस्थालगायतका स्वास्थ्य संस्थाको समिति गठन, काम, कर्तव्य र अधिकार समेटिएको छ । त्यसैगरी १५ श्ययासम्मका गुठीद्वारा सञ्चालित, सामुदायिक र निजी अस्पतालको मापदण्ड र दर्ता प्रक्रियासमेत समेटिएको छ । त्यसैगरी नगरमा निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक नीति तथा कार्यक्रम लागू गर्ने गरी ऐन ल्याइएको छ ।

छैटौँ नगरसभामा पेश भएको नगर स्वास्थ्य ऐन, २०७६ लाई सर्वसम्मतले पास गरेको हो । नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले नेपालको संविधानले मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको नागरिकको स्वास्थ्य अधिकारलाई नगरपालिकाले स्वास्थ्य ऐन ल्याएर थप सुनिश्चित गरेको बताए । उनले भने, “ऐनमा व्यवस्था भएबमोजिम नै नीति तथा कार्यक्रम ल्याई बजेटमा प्राथमिकीकरण गर्दै कार्यान्वयन गर्छौँ ।” उनले प्रदेश नं ५ मै नगरस्वास्थ्य ऐन लागू गर्ने पहिलो स्थानीय निकाय भएको जिकिर गरे ।

नगरपालिकाले यसअघि नै थारू जातिमा देखिएको सिकलसेल एनिमिया र थाइलेसोमिया रोग पहिचान रोकथामसम्बन्धी स्थानीय पाठ्यक्रम बनाई लागू गरिसकेको छ भने सिकलसेल एनिमिया रोग पहिचान कार्यक्रम लागू गरी एक देखि २९ वर्षसम्मका सबै थारू जातिका युवाहरुको रक्त परीक्षण गरिसकेको छ ।

सभाले वडा नं ९ का वडाध्यक्ष फत्तु थारूको संयोजकत्वमा सार्वजनिक लेखा समितिसमेत गठन गरेको छ । त्यसैगरी वडा नं ८ का वडाध्यक्ष हरि भुसालको संयोजकत्वमा खानेपानी तथा सरसफाइ समिति पनि गठन गरिएको छ ।

नगरपालिकाले हालसम्म २६.४३ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । नगरकार्यपालिकाले चालूतर्फ ३३.५८ प्रतिशत र पूँजीतर्फ १२.५७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । नगरपालिकाले चालू आवमा रु ५८ करोड आठ लाख ६९ हजार र पूँजीगततर्फ रु २९ करोड ९४ लाख ४३ हजार ९९२ गरी रु ८८ करोड तीन लाख १३ हजार बजेट विनियोजन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्