काठमाडौँ, २५ पुस । मीरगञ्ज खोलाको पुल मर्मतका लागि थप १२ दिन बन्द हुने भएपछि कच्चा पदार्थ आयात समस्याका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा मजदुरलाई बिदा दिन थालिएको छ ।
तेस्रो मुलुकबाट आयात हुने मालवस्तु सुनसरीबाट रि–रुट गरेर भित्र्याउने योजना रहे पनि भारतबाट आयात हुने कच्चा पदार्थ रोकिने भएपछि उद्योगीले मजदुरलाई बिदा दिने योजना बनाएका हुन् । विराटनगर भन्सार कार्यालयदेखि चार किलोमिटर दूरीमा रहेको भारतीय भूमिमा मीरगञ्ज खोलाको पुल २०७४ सालमा बाढीले क्षतिग्रस्त बनाएको थियो । त्यसयता बारम्बार मालवस्तु आयात–निर्यातमा पर्दै आएको समस्याले विराटनगर भन्सारसहित सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी मारमा पर्दै आएका छन् ।
गत पुस १ गतेदेखि १० गतेसम्म मर्मतको काम नसकिएपछि त्यसको पारि रोकिएका सवारी भन्सार क्षेत्रमा पठाउन भारतीय पक्षले सहजीकरण गरेको थियो तर बिहीबारदेखि पुनः १२ दिनका लागि पुल मर्मत गरिने पूर्वजानकारीसमेत गराएर सवारी आवतजावतमा रोक लगाइएको छ । यसपटक उद्योगीले मजदुरलाई बिदा दिएर उद्योगसमेत बन्द गर्ने योजना बनाएका हुन् ।
गोरखापत्र दैनिकबाट