Logo

काँग्रेसमा अब विधि, नीति र सिद्धान्त सिकाउने मान्छेको आवश्यकता छ- डा. नारायण खड्का



काठमाडौं, २५ पौष । नेपाली काँग्रेसका नेता डा. नारायण खड्का पछिल्लो समय गुट परिवर्तनको विषयले चर्चामा छन् । तर, उनले गुट परिवर्तन अस्वीकार गर्दै कुनै गुटमा नरहेको बताएका छन् । खड्कासँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानी ।
पार्टी सभापतिले जिल्ला सपभातिहरुलाई खुवाएको लन्चको उपलब्धि के भयो ?
त्यो लन्चमा मलाई त बोलाइएन । तर, त्यसमा जिल्ला सभापतिहरुले पनि आफ्नो कुरा राख्नुभयो, सभापतिले उहाँले ल्याएको विज्ञप्ति ग्रहण गर्नुभयो । त्यसपछि राम्रो भलाकुसारी भयो भन्ने कुरा तपाईंहरु जस्तै मिडिया र सामाजिक सञ्चालबाट थाहा पाएको हो । यसले राम्रो सन्देश दिएको छ । शेरबहादुरले यो एउटा कुराको थालनी गर्नुभयो ।
यसमा जिल्ला सभापतिहरुको जुन सुझाव आयो, त्यसमा पार्टी सभापति सहमत हुनुहुन्छ ?
त्यो एकापसमा छलफल हुनु राम्रो हो । मैंले सुनेअनुसार यसमा दुवै पक्षले आ–आफ्ना कुराहरु राख्नुभयो । सभापतिजीले पनि मैले पनि मिलाउन तीन-चार पटकसम्म लगातार मिटिङहरु गरिरहँदा पनि साथीभाइहरुले मान्नुभएन भन्ने कुराहरु राख्नुभयो । जिल्ला सभापतिहरुले पनि आफ्नो कुरा राख्नुभयो । यो राम्रो कुरा हो ।
पछिल्लो समय तपाईं शेरबहादुर निकट हुनुभयो नि ?
तपाईं कोइराला निकट भन्नुहुन्छ कहिले शेरबहादुर देउवातिर लाग्नुभयो भन्नुहुन्छ । म कुनै पनि गुटको बैठकमा जान्न ।
तपाईं त बैठकमा गइरहनुभएको छ, अरु चाहीं नजाने अनि तपाईं किन जाने ?
मलाई कुनै गुटको बैठकमा बोलाइँदैन । अब भोलि महाधिवेशनमा पनि गुटगत आधारमा भोट भयो भने म त हार्ने भएँ । त्यसमा मलाई बडो चिन्ता लागिरहेको छ । तपार्इंंले सल्लाह दिनुपर्यो ।
तपाईंं शेरबहादुर देउवाको गुटमै हुनुहुन्छ नि होइन ?
त्यस्तो काल्पनिक कुरा नगरौं न । उहाँहरुको गुटको बैठकमा कतै देख्नुभएको छ ? देख्नुभयो भने त तपार्इंंले जवाफ पाइहाल्नुहुन्छ नि ।
तपाईं त छायाँ परराष्ट्र मन्त्री हो नि ?
छायाँ सरकारमा त सबै छन् नि । परराष्ट्र सम्बन्धी बोल्नुपर्ने भयो भने बोल्ने न हो । त्यो फेरि कुन ठूलो कुरा हो र, मन्त्री बनाउने बेलामा अरु हुन्छन् । छायाँ हुने बेलामा म हुन्छु ।
काग्रेसमा आन्ततरिक कलहको समाधान कसरी गर्ने ?
त्यसको समाधान यही हो नि । वरिष्ठ नेताले जिल्ला सभापतिहरुलाई बोलाउनुभयो । त्यसमा सबैले कुनै वादविवाद नगरी हाँसी हाँसी सभापतिले पनि आफ्ना कुरा राख्नुभयो । जिल्ला सभापतिहरुले पनि आफ्ना कुरा राख्नुभयो । त्यसमा अन्य साथीहरुले पनि कुरा राख्नुभयो । जसरी बाहिर जाई जात्रा भयो भन्ने हल्ला गइराखेको थियो । यहाँ आएर हेरेपछि जिल्लाका साथीहरुलाई त्यस्तो होइन रहेछ भन्ने ढुक्क भयो । पार्टी सभापति वा पदाधिकारी भएपछि सबै हुन्छ अरु केही चाहिँदैन भन्ने कुरा एकदमै अपरिपक्व सोच जस्तो लाग्छ । अहिले हामीले तीन वर्षपछि हुने निर्वाचनलाई हेर्ने हो । त्यो निर्वाचनमा कसले हाक्न सक्छ भनेर सोच्ने हो । त्यो निर्वाचन जित्नका लागि कसले नयाँ दृष्टिकोण, ऊर्जा र रणनीति ल्याउन सक्छ भनेर जाने हो । नेता, कार्यकर्ताले कसलाई रुचाएका छन् भन्ने हो । अब अहिले नै पार्टी सभापति भएपछि सबै थोक हुन्छ भन्ने होइन ।
शेरबहादुर देउवाले फेरि पनि किन सभापतिमा आफ्नो उम्मेदवार दिन चाहनुहुन्छ ?
पार्टीको नेताले चुनाव अधिकार पाउँछन् । तपाईं पनि प्रेस स्वतन्त्रताको कति लड्नुभएको । रिपोर्टर्स क्लबमा मलाई कति पटक बोलाउनुभएको छ । त्यस्तै पार्टीका नेताहरुले चुनाव लड्न पाइहाल्छन् नि । उहाँ फेरि दोहोर्याएर पनि उठ्नुहुन्छ भने उहाँलाई हराइदिए भइगो त । अहिले नै म कसैको छोरा, नाति, भतिज हुँ भन्दै किन हिड्ने पार्टीका साथीहरुको मन जितेर शेरबहादुरजीलाई हराइदिए भइगो त । चुनावमा प्रतिस्पर्धा गरेर हराउनु बेग्लै कुरा हो । तर, तिमी बुढा भयौं, अब चुनावमा उठ्नै पाउँदैनौं भन्नु लोकतान्त्रिक पद्धतिसंगत भएन ।
पार्टी हाक्न त देउवा असफल हुनुभयो नि ?
उहाँको सफलता र असफलताको मूल्याङकन गर्ने त महाधिवेशन अग्नि परीक्षा छँदैछ नि । अहिले नै अक्षम समक्ष किन भनिरहनुपर्यो । त्यो महाधिवेशनमा भोट नहालिदिए भैगो नि । उहाँ राम्रो काम गर्न सक्नुभएन अब मलाई भोट दिनोस् भनेर भोट खिचेर शेरबहादुरजीलाई हराइदिए भइहाल्छ नि ।
तपाईंको भनाइ अनुसार कांग्रेसमा शेरबहादुरको अभैm आवश्यकता छ हो ?
मैले कहाँ शेरबहादुरजीको फेरि आवश्यकता छ भनेको छुर कुरा बँग्याएर नगर्नुस् न । मैले चुनावमा उम्मेदवारी दिने अधिकार पार्टी नेताहरु जसलाई पनि हुन्छ भनेको मात्रै हो । म सभापतिमा उठ्छु भन्ने अधिकार छ । भने उहाँलाई नहुने कुरै भएन । को सफल, को असफल भन्ने अग्निपरीक्षा आगामी महाधिवेशनले तय गर्ने छ ।
नेताहरुको महत्वकांक्षाले गर्दा कांग्रेसको राम्रो सन्देश गएको छैन, जनतालाई हँसाएको छ नि ?
तपाईंले ठीक कुरा गर्नुभयो । एउटा सचेत सफल प्रतिपक्षको भूमिका शून्य जस्तै भएको छ । अहिलेको सरकार कतिपय नियम, कानुन निर्माण गर्ने कुरामा निरंकुश बन्दै गएको छ । जस्तो सूचना प्रविधि विधयक ल्याएर प्रेस स्वतन्त्रता र नागरिकमा बोल्न, लेख्न पाउने अधिकारबाट बञ्चित गर्न खोज्दैछ । संस्थागत भ्रष्टाचार अगाडि बढाइरहेको छ । त्यस्तो कुरा लेख्ने मिडियालाई विधेयक ल्याएर संकुचित बनाउन खोज्दैछ । विकास निर्माणदेखि सबै अवसरका कुरा पकलौटी ढंगले गरिरहेको छ । त्यसका विरुद्धमा हाम्रो एकमुष्ठ आवाज घनिभूत हुनुपर्ने बेलामा आन्तरिक झगडामा पिल्सिएका छौं । हामी आपसमा लडिरहेका छौं, त्यसले जनता र कार्यकर्तामा राम्रो सन्देश गएको छैन । रामचन्द्र पौडेल पनि हाम्रा शीर्ष र वरिष्ठ नेता हुनुहुन्छ । ठूलो संघर्ष र बलिदानीबाट आउनुभएको हो । शेरबहादुरजी पनि त्यस्तै हो, अन्य साथीहरुको पनि उत्तिकै योगदान छ । हामी सबैलाई लोकतान्त्रिक विधि, नीति र पद्धति सिकाउने पार्टीमा अनुशासन भएन । त्यस्तो भिजन राख्ने मान्छेको आवश्यकता छ ।
त्यो शेबहादुर देउवासँग छ त ?
मैले उहाँ त्यो भिजन भएको मान्छे भनेकै छैन । त्यसको लागि महाधिवेशन आइरहेको छ नि ।
गुट परिवर्तन भइरहेको छ नि कांग्रेसमा ?
चुनावनै नआइकन अब तपाईं सभापति भनेर लेखेर दिने होइन नि । चुनाव जित्ने कुरा अर्कोले पनि जित्न सक्छ नि ।
रामचन्द्र पौडेलले त शेरबहादुरले पार्टी कब्जा गर्न लागे.भनेका छन् ?
चुनावमा धाँधली गर्ने, चुनाव नजिक आफ्ना मान्छेलाई बढी ल्याउने खालका अनियमिततालाई रोक्नुपर्छ । निश्पक्ष र विश्वासनीय चुनाव हुनुपर्छ ।
दुई महिनाभित्रै गर्नुपर्ने विभाग गठन अहिले किन आवश्यक ?
यो पहिले नै गर्नुपर्ने थियो । हामीले अहिलेसम्म एउटा पनि विभाग बनाउन सकिराखेका छैनौं । सभापति भन्नुहुन्छ, ‘मैले धेरै पटक नाम दिनुस् भने मान्नुभएन, जब गठन गर्ने बेला आयो अनि मिल्दैन भन्नुहुन्छ अनि के गर्नु’ भन्नुहुन्छ । म पनि व्यक्तिगत रुपमा यो विभाग बढाउनु आवश्यक छैन भन्ने पक्षमा हो । अब फेरि रामचन्द्रजी नआउनुहोला सभापतिले एकलौटी ढंगले राखिदिनुहोला, त्यो पनि एकपक्षीय हुन्छ । सभापतिले महत्वपूर्ण विभाग आपूmलाई राखेर एकलौटी ढंगले काम गर्नुभयो भने पनि विवाद उत्पन्न हुन्छ । चार वर्ष नाग्न लागिसक्यो त्यो बेलासम्म विभाग गठन हुन सकेको छैन ।
कांग्रेसको दुवै नेताबीच कुरा मिल्छ त ?
लडार्ईं, झगडा जे भएपनि हाम्रो पार्टीमा अन्तिममा गला मिलाउने चलन छ । आदरणीय स्व. गिरिजाप्रसाद कोइरालाको पालादेखि चल्दै आएको कुरा हो । छलफलमा रस्साकस्सी हुन्छ तर अन्तिममा सहमतिबाटै काम पुरा हुन्छ । अरु पार्टीमा पनि विवाद त हुन्छ तर हाम्रो बढी नै विवाद भइसक्यो । त्यसमा अलिकति नैतिकता पनि चाहिन्छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली मृगको छालामा बाघजस्तो भएर आउनुभएको छ । उहाँका गुरुहरु भनेका भियतनाम, चीनका सि जिन पिङहरु छन् । उहाँहरुबाट त्यही सिक्नुभएको छ ओलीजीले । सरकार अहिले एकदमै निरंकुशत र अधिनायकवादी ढंगले अगाडि बढेको छ, त्यसले जनतामा नेपाल कांग्रेसप्रति आस्था र भरोसा जाग्नुपर्ने हामीले आपसी झगडा गर्दा नागरिकमा निराजनक कुरा हुन्छ ।
यसपटकको संसद्मा सूचना प्रविधि विधेयक पारित हुन्छ कि हुँदैन ?
यो पारित हुँदैहुँदैन । सत्तापक्षका पनि केही माननीयहरुमा यसप्रति केही रिजर्भेसन छ । जसरी साइबर क्राइमको विषय आइरहेको छ । यो भने भने कम्बोडिया, भियतनामका प्रधानमन्त्रीहरुले ल्याएका साइबर क्राइम कानुन जस्तो हो यो विधेयक । अरु देशले पनि ल्याएका छन् । तर, नेपालमा यी विभिन्न साइबर क्राइम, विद्युतीय कारोबार, मिडिया काउन्सिल जस्ता विधेयक ल्याएर प्रेस स्वतन्त्रता र नागरिकलाई बोल्न पाउने अधिकारबाट कुन्ठित पार्न खोजिएको छ । यसले अधिनायकवादी साम्यावादी कानुन ल्याउन खोजिएको । विद्युतीय कारोबारको ऐन त पास गर्न नसकेको अवस्थामा त्यो भन्दा कठोर ऐन ल्याएर जनतालाई कुष्ठित पार्न खोजिएको छ । यसले पत्रकारलाई मात्रै होइन जनताको सूचना पाउने अधिकार पनि खोसिने छ । सबैखाले स्वतन्त्रतालार्इृ कुष्ठित बनाएर यो सरकार एकदलीय अधिनायकवादी तानासाहतिर उन्मुख हुँदैन ।
सदनमा कांग्रेसको भूमिका के ?
सूचना प्रविधि विधेयक विरुद्ध हामी संसद अबरुद्ध गर्न पनि पछि हट्दैनौं ।
संसद अबरुद्ध पनि हुन सक्छ हो ?
सम्पूर्ण सञ्चारकर्मी लगायत सबै सरोकारबारवाला सडकमा आउनु खालको कानुन आउँदैछ । यो काुन मृगको छाला ओढोर बाग बनेर आउने खालको छ । अस्ति पुप्पकमल दाहाल, ‘हामी अर्को चुनाव नेकपाले मात्रै दुई तिहाई ल्याउँछौं’ भन्दै हुनुहुन्थ्यो । नेकपाका साथीहरु एकदमै तानास ढंगले बहकिनुभएको छ, त्यसको विरुद्ध हामी संसद्विरुद्ध गर्न पनि तयार छौं ।-File Photo



प्रतिक्रिया दिनुहोस्