Logo

नेकपा सचिवालय बैठक सम्पन्न, उपसभामुखले राजीनामा दिने



काठमाडौं, २६ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभाको रिक्त रहेको सभामुख पदको लागि पार्टीको तर्फबाट उम्मेद्वारी दिने निर्णय गरेको र यसकोलागि वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेको छ ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने,‘हाम्रो पार्टीले सभामुखको लागि उम्मेद्धवारी दिने निर्णय गरेको छ । यसको लागि वर्तमान उपसभामुखलाई राजीनामा गर्नको लागि आग्रह गरेको छ ।’

नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन । सभामुख कसलाई बनाउन खोज्नु भएको हो भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता श्रेष्ठले कुनै जानकारी दिएनन् । गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्