Logo

प्रदेश १ नामै तोक्न सकस



काठमाडौँ, २७ पुस । ‘सहमतिमा टुंग्याउँछौं’ भन्दै सार्वजनिक मञ्चहरूमा अभिव्यक्ति दिने तर व्यवहारमा भने सामान्य तयारी पनि नथाल्ने प्रदेश सरकारको कमजोरीकै कारण प्रदेश १ को नामकरण अनिश्चित बनेको छ। मुख्यमन्त्री तथा मन्त्रीहरूले सहमतिको कुरा गरे पनि पार्टी केन्द्रको निर्देशन पर्खंदा तयारी शून्यबराबर भएको हो।

‘खासमा हामी पार्टी केन्द्रको निर्देशन पर्खेर बसेका छौं,’ सत्तारूढ नेकपा प्रदेश कमिटीका एक नेताले भने, ‘राजधानीको निर्देशन छिटो आयो टुंगियो तर नामको आएको छैन, त्यसैले अघि बढेको छैन।’ गत वैशाखमा पार्टी हाई कमान्डकै योजनामुताबिक राजधानीको मुद्दा टुंग्याएको प्रदेश १ मा नामकरणको विषयले भने अहिलेसम्म छलफलको रूपसमेत पाएको छैन। त्यसो त राजधानीको मुद्दा पनि जुनसुकै बेला विवाद निम्त्याउने हिसाबले टुंगो लागेको थियो।

त्यतिबेला ‘बृहत् विराट विकास क्षेत्रको विराटनगर राजधानी हुने र इटहरी, सुन्दरहरैंचा आसपासमा प्रदेशका प्रशासनिक संरचनाहरू रहने’ भनी राजधानी मुद्दा प्रदेशसभाले टुंग्याएको थियो। तर मुख्यमन्त्री शेरधन राईसहित प्रदेश मन्त्रिपरिषद्का सबै सदस्य प्रशासनिक संरचना विराटनगरबाट दायाँबायाँ नहुने बताइरहेका छन्।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्