Logo

कुलो बगेपछि हराए रैथाने धान



काठमाडौँ, २७ पुस । कुनै बेला मोहन्याल गाउँपालिकाको चुरे फेदका खमिडी, पट्रेनी, जाडखेत, टुप्पा, खरियापानी र नवलपानीलगायत ठाउँमा रैथाने जातका धान रोपिन्थ्यो । ठूलीगाड किनारका यी गाउँका उर्बरखेतमा फल्ने रैथाने जातका धान अहिले हराइसकेका छन् । चालिसको दशकपछि स्थानीयले ठूलो जातको धान लगाउन छाडेका हुन् ।

कुनै बेला रैथाने जाड जातको धान रोपिने कैलालीको मोहन्याल–४ पट्रेनीको खेत र बस्ती । बाढीले परम्परागत कुलो बगाएपछि स्थानीयले नियमित सिँचाइ चाहिने रैथाने धान लगाउन छोडेका छन् । ७५ वर्षीय गजबहादुर सेटीका अनुसार बुडेजाडो, तिलडी जाडो र सामेजाडो गरी तीन प्रकारका रैथाने धान लोप भइसकेका छन् । ‘अहिले यी जातको बीउ पाउन मुस्किल छ,’ सेटीले भने, ‘बासमती चामलजस्तो बास्नायुक्त र खान पनि मीठो हुने मसिनो चामल हुन्थ्यो । भात पनि बढ्थ्यो ।’ २०४० सालमा आएको बाढीले परम्परागत कुलो बगाएपछि स्थानीयले रैथाने धान रोप्न छोडे । ‘कुलोलाई पुनः सञ्चालनमा ल्याउन नसकिने गरी बाढीले बगायो,’ उनले भने, ‘कुलोको मुहान पनि बग्यो । आकाशे पानीको भरमा खेती लगाउनुपर्दा समस्या भएको हो ।’

रैथाने धानलाई पानी नियमित चाहिने भएकाले सिँचाइ अभावमा लोप भएको उनले बताए । ‘छिट्टै पाक्ने र ढिलो पाक्ने दुई जातका धान थिए,’ उनले भने । सेटीका अनुसार जेठमा रोपेर मंसिरमा पाक्थ्यो । अन्य जातको धानको भन्दा पराल लामो हुन्थ्यो । धानको बाला मात्रै काटेर भित्र्याउने चलन थियो । अर्का स्थानीय ६५ वर्षीय तारासिंह ताडीले सिँचाइ नहुँदा किसानले विकासे जातको धान लगाउन सुरु गरेको बताए । उत्पादकत्व कम हुने विकासे धान तीन महिनामै पाक्ने उनको भनाइ छ । ‘बर्खे सिजनमा आकाशे पानीको भरमा रोपाइँ गर्न विकासे धान नै राम्रो छ,’ उनले भने । ताडीले चालिसको दशकमा बाढीले जाडखेत पनि बगाएको बताए । ‘स्थानीयको आधा खेत बाढीले बगाएको थियो,’ उनले भने, ‘जाडखेत पूरै बगर भयो ।’ साविकको पन्डौन गाविसमा पर्ने जाडखेत त्यसबेलाको जाड जातको धानको नामबाट रहन गएको उनले बताए । ‘हिड भायौं, गाडका माछा, जाडका भात खान’ उतिबेला यहाँका बासिन्दाले गाउने गीत नै थियो । ‘यस गीतले पनि जाडको भात कति मीठो हुन्थ्यो भन्ने पुष्टि गर्दैन र रु’ ताडीले भने, ‘अहिले त ठूली गाडका माछा पनि उहिले जस्तो छैनन्, सकिए । जाडको भात झनै काँ पाउने रु’

त्यो बेलाको जाड जातको धानको चामलले जुम्लाको मार्सी चामलको जस्तो बजार पाउने गरेको स्थानीय वीरेन्द्र बमले बताए । त्यस जातको धान उतिबेला डोटीको बोगटान र जोरायल क्षेत्रमा पनि लगाइन्थ्यो । ‘अहिले पनि त्यो जातको बीउ खोजेर सरकारले प्रवर्द्धन गर्न सक्छ,’ उनले भने ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्