Logo

‘साँस्कृतिक ज्ञान नयाँ पुस्तालाई’



काठमाडौं, २७ पुस । शताब्दी पुरुष सत्यमोहन जोशीले साँस्कृतिक ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको बताएका छन्। काठमाडौंको नैकापमा कमला कार्की स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा उनले नयाँ र पुराना पुस्ताबीच साँस्कृतिक आदान प्रदानमा जोड दिए। कला संस्कृतिको विकास र सम्र्वद्धनका लागि शैक्षिक संस्थाको भूमिका महत्वपुर्ण हुने उनको भनाइ थियो।

पछिल्लो समय नयाँ पुस्तामा मुलुकको कला संस्कृति तथा ऐतिहासिक धरोहरबारे पर्याप्त अध्ययन अनुसन्धान हुन नसकेको जोशीले बताए। उक्त कार्यक्रममा प्रतिष्ठानले आ–आफ्नो क्षेत्रमा योगदान पु(याउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो। पत्रकार आरती लम्साल, गायिका सृजना केसी एवं भलिबल खेलाडी सलीना श्रेष्ठलाई १०–१० हजार रुपैयाँले सम्मान गरिएको थियो।प्रतिष्ठानले निसहाय साहरा केन्द्रकी अध्यक्ष सगुन शाहलाई ८० हजार रुपैँया सहित सम्मान गरेको थियो। केन्द्रले लामो समयदेखि दुःखमा परेका महिलाहरूको संरक्षणमा योगदान पु(याउँदै आएको छ। त्यसैगरी, चन्द्रागिरी नगरपालिका १४ र १५ नम्बर वडाका धनमाया महर्जन र मिठु केसीलाई पनि १० हजार रुपैयाँले सम्मान गरिएको थियो।

कार्यक्रममा साहित्यकार तथा सञ्चारकर्मी डा। नवराज लम्सालले सम्मानित व्यक्ति तथा संस्थाबारे जानकारी गराएका थिए। डा। लम्सालले केवल सम्मान कार्यक्रम मात्र नभइ ज्ञानको हस्तान्तरण र पुस्ता मिलन भएको बताए। प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीले सम्मान र पुरस्कारलाई निरन्तरता दिँदै राष्ट्रिय स्तरमासमेत प्रतिभाहरूको प्रोत्साहन गर्ने बताए। उनले विद्यालयस्तरको छात्रवृत्ति पनि थप्दै जाने जानकारी दिए। सो कार्यक्रममा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ , उमेश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्