काठमाडौँ, २७ पुस : आजबाट शुरु भएको शालीनदी मेलालाई लक्षित गरेर निर्माणाधीन चाबहिल–साँखु सडकमा खाल्डा पुर्ने कामलाई तीव्रता दिइने भएको छ ।
मेलाका लागि आउने दर्शनार्थीलाई यात्रा गर्न सहज होस् भनेर अहिले तत्काल कालोपत्र नहुने स्थानमा ग्राभेल गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अहिले थली, सलम्बुटार नजिक र वाग्मती पुल नजिक गरी तीन स्थानमा समस्या रहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।
स्थानीयवासीको अवरोधका कारण ठेकेदारले काम गर्न नपाएको थली र सलम्बुटारमा तत्काल सडक कालोपत्र गर्न नसकिए पनि ग्राभेल गर्न आयोजनाले भनेको छ । उनले भने, “ठेकेदारले अवरोध गरिरहँदा किन कालोपत्र गर्ने भने पनि हामीले ठेकेदारलाई सम्झाएर कालोपत्र गर्न भनिरहेका छौँ ।”
चारवर्ष पहिले २२ मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भएको थियो । झण्डै १० किमी सडकमध्ये पाँच किमी कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्र गर्न बाँकी सडकमध्ये पनि झण्डै डेढ किमी सडकमा समस्या रहेको इञ्जिनीयर श्रेष्ठले बताए । उनले भने, “पूरै सडक केही दिनभित्रै खाल्डारहित हुनेछ ।”
चावहिल–साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै
मापदण्डानुसार सडक चौडा भइरहेको छ । चौडाइ मापदण्डानुसार कायम भएका स्थानमा मात्रै पैदलयात्रु मार्ग, वर्षाको पानी जम्मा हुने ढललगायतका पूर्वाधारको निर्माण भइरहेको छ । उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गतवर्ष मन्त्रिपरिषद्ले गरेको निर्णयकै आधारमा काम अघि बढाउँदा सबै स्थानमा मापदण्डानुसार सडक निर्माण हुन नसकेको हो ।