Logo

फन्दामा पर्छन् पढेलेखेकै धेरै



काठमाडौँ, २८ पुस । झन्डै ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ वर्षीय युवक ‘डिपोर्ट’ भएर यही पुस ४ गते काठमाडौं उत्रिए । प्रहरीको मानव बेचबिखन ब्युरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक योग्यता १० कक्षा पास मात्रै भएको बताए । थप अनुसन्धानपछि थाहा भयो, उनी स्नातकोत्तर तहको अध्ययन सकेर स्थानीय बोर्डिङमा पढाउँदा रहेछन् । मानव तस्करको फन्दामा परेको सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर उनले आफ्नो शैक्षिक योग्यता ढाँटेका रहेछन् ।

दाङका यी युवाजस्तै मानव बेचबिखनमा परेकाहरूमा उच्च शैक्षिक योग्यता भएका धेरै छन् । पढालेखालाई अवैध बाटोबाट अमेरिका र युरोपदेखि खाडीका देशसम्म छिराइदिने आशा देखाउने एजेन्टहरूको शैक्षिक योग्यता भने कम छ । मानव बेचबिखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडकको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट थाहा हुन्छ, पढेलेखेकैहरू थोरै पढेका वा कमजोर शैक्षिक योग्यता भएकाहरूबाट ठगिन्छन् । १ सय ७६ पुरुष र ९१ महिला पीडितले प्रहरीमा दिएका निवेदनमा मानव बेचबिखन समूहको फन्दामा परेर २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ गुमाएको दाबी गरेका थिए ।

ब्युरोका डीएसपी राजकुमार सिलवालले यसअघि केन्द्रीय अनुसन्धान ब्युरोमा छँदा मानव बेचबिखनका पीडित, पीडितको शैक्षिक योग्यता र उमेर समूहको अध्ययन गरेका थिए । अध्ययनका बेला २ सय ६७ पीडितलाई मानव बेचबिखनमा पारेका २२ जना पीडक समातिएका थिए । पीडित र पीडकको शैक्षिक योग्यता तुलनात्मक अध्ययन गर्दा पढालेखालाई थोरैशैक्षिक योग्यता भएकाले झुक्याएर ठगेको पाइएको थियो ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्