Logo

उपसभामुख शिवमायालाई हठ त्याग्न झलनाथको आग्रह, नत्यागे नोक्शान (भिडियोसहित)



 

काठमाडौं, २८ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई आफ्नो हठ त्याग्न आग्रह गरेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन् “ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्,”कोही पनि मान्छेले मलाई यो पद देउ, मलाई यो पदमा राख, यो बनाउ, यो बनाएनौ भने म केही पनि गर्दिन् । म पार्टीले भनेको मान्दिन् । पार्टीले गरेका निर्णयहरु मान्दिन भन्ने हक कसैलाई पनि हुँदैन् । यो डा. शिवमाया तुम्बाहाम्फेलाई पनि छैन् ।”

उनले शिवमायाले त्यस्तो हठ लिएर बस्ने भन्नेमा आफूलाई विश्वास नभएको पनि दाबी गरे । उनले थपे,”मलाई लाग्छ उहाँ त्यस्तो हठ लिएर बस्नुहुन्न । र, बस्नुहुँदैन पनि । उहाँ मेरो बहिनीजस्तो मान्छे पनि हो । म तपाईको यो लोकप्रिय माध्यममार्फत उहाँलाई सुझाव पनि दिन चाहन्छु कि त्यस्तो हठ नलिनुहोस् । यो हठले तपाईलाई नै नोक्शान पुर्याउँछ । त्यसो हुनाले पार्टीले जे निर्णय गर्छ, पार्टीले सबै कुरालाई ध्यानमा राखेर निर्णय गर्छ । आग्रह र पूर्वाग्रहका साथमा निर्णय गर्दैन् । त्यो निर्णयलाई सर्वोपरि मान्नुको अर्को कुनै विकल्प छैन् ।”



प्रतिक्रिया दिनुहोस्