Logo

पत्रकार ऋषि धमलाद्वारा झरना मिडिया हाउसको उद्घाटन, जनमुखी पत्रकारिता गर्न सुझाव



काठमाडौं, ४ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले झरना मिडिया हाउसको आज उद्घाटन गरेका छन् । शनिबार विहान उक्त मिडिया हाउसको प्रधान कार्यालय रहेको जोरपाटीमा पत्रकार धमला र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्ण कुमार राईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै पत्रकार धमलाले अबको मिडिया व्यवसायीकरण हुनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘अब पत्रकारिता व्यक्तिमुखी भएर काम छैन् । जनतामुखी हुनुपर्छ । आजको युग भनेको २१औं शताब्दीको युग हो, जनता छिटो सूचना चाहन्छन् । विगतमा मिशन पत्रकारिता थियो । जनतालाई पत्रकारिताको एजेण्डा थाहा होस् । आवाजविहीनहरुको पत्रकारिता हो ।’

धमलाले सरकारले विकास र समृद्धिको लागि जसरी काम गर्नुपर्ने थियो सोअनुसार नगरेकोमा गुनासो पोखे । उनले भने,‘म भर्खरै चावहिल हुँदै जोरपाटी आएको हुँ, अहिलेपनि यहाँको सडक अझै हिलाम्मे छ । अहिले पनि मुलुकमा तीन तहका सरकार छन् । सडक बनाउने, स्तरोन्नती गर्नेतर्फ कसैको ध्यान गएको छैन् । राजनीतिक नेतृत्वको के हो काम ? विकास निर्माणमा सरकारले ध्यान पुर्याउनुपर्छ ।’

उनले सरकार भ्रष्टाचारलाई न्यूनीकरण गर्नेतर्फ अग्रसर हुनुपर्ने सुझाव दिए । उनले भने,‘भ्रष्टाचार रोकथामको लागि सरकार गम्भिर हुनुपर्छ, भ्रष्टाचारमा सरकारले शून्य सहनसिलता अपनाउनुपर्छ । विकासको बाधक भ्रष्टाचार हो । सुशासनको बाधक भ्रष्टाचार हो । सरकारको नेतृत्वकर्ताले यसतर्फ ध्यान दिनुपर्छ ।’

अहिलेको राजनीतकि प्रणालीलाई बलियो र संस्थागत गर्ने हो भने प्रमुख राजनीतिक दल र यसका नेतृत्वकर्ताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड मिलेर अघि बढ्नुपर्ने पनि धमलाको भनाई छ । उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकार कठोर बन्नुपर्ने पनि सुझाव दिए।

कार्यक्रममा नेकपाका सांसद कृष्ण कुमार राईले वर्तमान सरकारले काम गर्न सकेको छैन भन्ने आरोपमा पूर्ण सत्यता नभएको जिकिर गरे । उनले भने,‘बौद्ध–जोरपाटी सडक छिट्टै पिच हुन्छ ।’ उक्त मिडिया हाउसका प्रमुख भने टि.एन. धमला हुन् ।



प्रतिक्रिया दिनुहोस्