काठमाडौं, ४ माघ । बसमा सफाई कामदार थिए । उनीहरुलाई कार्यस्थलमा लगेर हरेक विहान छाडिन्थ्यो । सोही दिन पनि कोठाबाट कार्यस्थलमा छाड्न लगिदै थियो । बस तिव्र गतिमा बढिरहेको थियो ।
‘बसमा सबै निदाइरहेका थिए,’ घाइतेमध्येकी मिना थिङले भनिन् । अचानक बस ठोक्कियो । निदाएर गन्तव्यतर्फ बढिरहेकामध्ये तीनजना नेपाली महिला कहिले उठेनन् । अन्य नेपाली पनि गम्भीर घाइते भए । जसमध्ये मीना थिङले आफूलाई एकैपटक टाउकोमा टाका लगाइएको र मुख सुन्निएको अवस्थामा अस्पतालमा पाइन् । बसमा चालक बाहेक २४ जना नै महिला थिए । उनीहरु स्कुल र विभिन्न कार्यालयमा सफाईका लागि लगिन्थे ।
बिहिबार स्थानीय समय अनुसार विहान साँढे पाँच बजे संयुक्त अरब इमिरेट्सको अबुधावीमा भएको सडक दुर्घटनामा तीन जना नेपाली महिलाको ज्यान गएको थियो । घटनामा पाकिस्तानी चालक रिजवाननन उल्ला र दुई श्रीलंकाली महिलाको पनि ज्यान गयो । अबुधाबीस्थित नेपाली राजदूतावासले ज्यान गुमाउने नेपालीहरुको विवरण सार्वजनिक गरेको हो ।
दूतावासका अनुसार गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र बाराकी अमिसा मोक्तान छन् । दूतावासले उनीहरुको राहदानी नम्बर समेत सार्वजनिक गरेको छ ।
घटनामा घाइते १४ जना नेपालीहरुको स्थानीय मफरक हस्पिटल, एनएमसी रोयल हस्पिटल र अल रहबा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । बाँकी सबैलाई जनरल वार्डमा राखिएको छ ।
बिहिबार विहान स्थानीय समयअनुसार साँढे पाँच बजे अल राह रोडमा भएको घटनामा चालकबाहेक २४ जना महिला चढेको बस लरीसँग ठोक्किदा दुर्घटनामा भएको थियो । एउटा ट्याक्सी अचानक रोकिएपछि दुईवटा लरी रोकिएका थिए । त्यसपछि पछाडि रहेको बस नरोकिंदा लरीसँग ठोक्किएको थियो ।
लरी विस्तारै रोकिएको र तिव्र गतिमा आएको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनाको भिडियो दृश्य हेर्दा बस चालकको लापरबाही देखिन्छ । अबुधावी प्रहरीले पनि प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाही भनेको छ ।-खलिज टाइम्स र दी नेस्नलको सहयोगमा Photo courtesy: Abudhabi Police