भोजपुर, ६ माघ । भोजपुर जिल्लाको अरूण गाउँपालिकामा विराट ज्ञानमहायज्ञ तथा अरुण साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । यही माघ १८ देखि २६ गतेसम्म अरूण गाउँपालिकाको केन्द्र प्याउलीमा सुसम्पन्न हुनेगरी विभिन्न कार्यक्रमसहित विराट ज्ञानमहायज्ञ तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको महोत्सवको मूल आयोजक समिति सदस्य डिल्ली सापकोटाले जानकारी दिए ।
सापकोटामा अनुसार महोत्सवको मुख्य उद्देश्य नेपाल भ्रमण वर्ष २०२० भव्य र सभ्य रूपमा सफल पार्दै अरूण गाउँपालिकाको केन्द्र प्याउलीमा अतिथि, अनाथ, वृद्धलगायत, सवैको आश्रयथलो बन्न सक्ने बहुउद्देश्यीय निर्माण गरी सवैका निम्ति संस्कार पाठशाला सञ्चालन गर्ने रहेको छ ।
भोजपुर धार्मिक तथा साँस्कृतिक सम्पदाले सम्पन्न जिल्ला रहेको बताउँदै उनले महोत्सवले लोपन्मुख अवस्थामा रहेको स्थानीय लाखे, बालन, साकेला, संगिनी, चण्डीनाच, सोरठीनाच, मारूनीजस्ता संस्कृतिको संरक्षण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
महायज्ञ र महोत्सवबाट भोजपुरमा उल्लेख्य संख्यामा रहेका मठमन्दिर, गुम्वा, देवी(देउरालीलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्न चेतना फैलने तथा सहयोग पुग्ने सापकोटाको विश्वास छ। महोत्सवमा योग तथा स्वास्थ्य शिविरका अलवा निःशुल्क औषधिसमेत वितरण हुने उनले जनाए ।
विराट ज्ञानमहायज्ञ मूल समारोह समितिका सदस्य सचिव सोमनाथ कोइरालाले विराट ज्ञानमहायज्ञ तथा अरुण साँस्कृतिक महोत्सवले बालागुरू षडानन्द र महिला अग्रणी योगमाया जस्ता प्रसिद्ध महानुभावहरूको तपस्थलीका रूपमा रहेको ठाउँको प्रचार हुने बताए ।
उनले मौलिक सभ्यता, दर्शन र शिक्षाको प्रचार(प्रसारका निम्ति गुरूकूल, बहुउद्देश्यीय आश्रम, संस्कार पाठशाला र सित्शिक्षाका केन्द्रहरू स्थापना तथा सञ्चालनमा आफूहरूको जोड रहेको स्पष्ट पारे । कोइरालाले सनातन परम्पराका रूपमा विकसित बौद्ध, किँरात धर्मका मर्म बुझाएर महायज्ञ र महोत्सवमार्फत पुस्तान्तरण गर्न जरुरी रहेको धारणा राखे ।
अरूण गाउँपालिकाका अध्यक्ष गजेन्द्र कार्कीले महोत्सवले भोजपुर जिल्लाको धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वलाई देशभर तथा विदेशमा समेत पुर्याउने दाबी गरे । उनले महोत्सवले स्थानीय जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अरूण गाउँपालिकाका पेन्सनगढी, पाताले गुफा, दूरवीन डाँडा, हरेलो डाँडा, वडापोखरीजस्ता पर्यटकीय स्थलहरूको प्रचार हुने विश्वास व्यक्त गरे ।
अरूण साँस्कृतिक महोत्सवलाई भव्य र सभ्य र रूपमा सफल पार्न काठमाडौँ आएका अध्यक्ष कार्कीले महोत्सवमा सहभागी भएर सफल पार्नका लागि सहयोग गरिदिन अनुरोध समेत गरे । महोत्सवमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन गर्नू आफ्नो जोड रहेको उनको भनाई छ ।
विराट ज्ञानमहायज्ञ तथा अरुण साँस्कृतिक महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत विशिष्ट व्यक्तित्व , भोजपुरे र भोजपुरसँग सम्बन्धित सबैलाई आमन्त्रण गरिएको मूल आयोजक समितिले जानकारी दिएको छ ।
विराट ज्ञानमहायज्ञ तथा अरुण साँस्कृतिक महोत्सव आयोजक समितिको सचिवालयले कार्यक्रमलाई सफल पार्न तन, मन र धनले सहयोग गर्न अनुरोध गर्दै इच्छुक महानुभावहरुले विराट ज्ञानमहायज्ञ तथा अरुण साँस्कृतिक महोत्सवको नाममा सेन्चुरी बैँक प्याउली भोजपुर शाखामा रहेको खाता नम्बर १०२००००१३८ सिए मा रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।
अन्नदान, धान्यदान, तुलादान, हवन सामग्री र पूजासामग्रीजस्ता जिन्सी सहयोग समेत प्रदान गर्न सक्ने व्यवस्था छ । दाता महानुभावहरूलाई विशिष्ट सम्मान प्रदान गरिने समितिको भनाई छ ।