काठमाडौँ, १० माघ । पत्थरीको समस्याले आठ वर्षीय छोरा ऐया र आत्थु गर्न थालेपछि दाङका शिशिर गौतम रातारात कान्ति बाल अस्पताल आइपुगे । स्थानीय नेताले आफूसँग परिचित सो अस्पतालका एक चिकित्सकलाई दाङबाटै फोन गरी ‘राम्ररी उपचार गरिदिन’ भनेका थिए ।
तिनै नेताकै सिफारिसमा शिशिर सीधै कान्ति बाल अस्पतालका ती चिकित्सकको सम्पर्कमा पुगे । ती चिकित्सकले सो अस्पतालमा शल्यक्रिया गर्न महिनौँ पर्खिनुपर्ने हुनसक्छ भन्दै नजिकको एक अस्पतालमा गए सोही दिन शल्यक्रियाको प्रवन्ध गरिदिने बताए । घर फर्किनुअघि ती चिकित्सकसँग परामर्श गर्न सोही अस्पतालमा आइपुगेका शिशिरले महिनौँ पर्खिनुभन्दा त्यसै दिन ‘अप्रेसन’ हुने भनेपछि मैले सहमति दिएँ । त्यसै दिन साँझ अप्रेसन गरेर मिर्गौलाको पत्थरी फाालिए । उनका अनुसार नजिकैको निजी बाल अस्पतालमा छोराको शल्यक्रिया गरिएको थियो ।
औषधि र शय्याबाहेक शल्यक्रियाका लागि मात्र ५० हजार रुपियाँ उतिखेरै उनले त्यस निजी बाल अस्पताललाई बुझाउनुप¥यो । शिशिर आर्थिक रूपमा सम्पन्न थिए । त्यसैले छोराको पीडा देख्न नसकी अस्पतालले मागे जति रकम तत्कालै बुझाए । उता सिरहाका सन्तोष मण्डलले साढे दुई वर्षका छोराको पीडा देख्दादेख्दै पनि आर्थिक अभावले शल्यक्रियाका लागि आठ महिना पर्खिनुप¥यो । मलद्वारको संरचना नभएका ती बालकको उपचार गराउन गत वैशाखमा सन्तोष कान्ति बाल अस्पताल आइपुगेको थियो । चिकित्सकले शल्यक्रियाका लागि माघ १ गते समय दिए । त्यतिन्जेल काम चलाउन चिकित्सकले कोखामा सानो प्वाल बनाइदिएका थिए, त्यहीँबाट दिसा निस्कन्थ्यो ।
गोरखापत्र दैनिकबाट