
काठमाडौँ, १५ माघ । समकक्षी अग्निप्रसाद सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुख चयन भए। सहकर्मी सापकोटा उच्च ओहदामा पुग्दा आफूले राजनीतिबाट लिएको ‘सन्न्यास’प्रति कुनै पश्चात्ताप थिएन उनलाई।
राजनीतिप्रति जागेको चरम वितृष्णाको तीन वर्षअघिको निर्णयले निम्त्याएको कृषिको बाटो नै सहज महसुस भइरहेको छ पूर्वमन्त्री लोकेन्द्र विष्टलाई। उनी भन्छन्, ‘राजनीतिमा लागिरहेको भए यो वा त्यो पदमा हुन्थें भन्ने सोच मेरो दिमागमा कहिल्यै आउँदैन।’ २०५१ सालमा आँफूसँगै सिसिएम (केन्द्रीय कमिटी समिति) बनेका आफ्ना सहकर्मी सापकोटा सभामुख बनेको प्रति औधि खुसी व्यक्त गर्दै थोरै चिन्ता राखे– ‘एमसिसी प्रकरणले उहाँलाई सिध्याउने खतरा देखिरहेको छु।’ ‘ड्रागन फ्रुट’ खेती फैलिएको ६६ कट्ठा बारीनजिकै टिनको टहरोमा यही फल बिक्री गर्न व्यस्त थिए लोकेन्द्र। ग्राहकसँग उस्तै मजाक गर्दै हँसाइरहेका थिए– ‘ड्रागन फ्रुट’बाट टन्न कमाएर हजारका नोटै नोटले कसैलाई प्याट्ट हान्न मन छ।’
स्वास्थ्य र पर्यटन गरी दुई कार्यकाल मन्त्री बनेका लोकेन्द्र राजनीतिबाट विमुख बनेर अहिले ‘ड्रागन खेतीमा लागेका छन्। उनी जिल्लाको तुलसीपुर उपमहानगर, बिजौरी डाँडामा रहेको जमिन लिजमा लिएर कृषि गरिरहेका छन्। ४० वर्ष लामो राजनीतिक जीवनलाई बिट मारेर किन कृषि उद्यममा लागे लोेकेन्द्र रु उनको जवाफ छ, ‘फोहोरी खेल राजनीतिसँगै म सती जान सकिनँ।’ २०३५ सालमा कम्युनिस्ट विद्यार्थीको आन्दोलनमा सहभागी भएदेखि नै उनीभित्र राजनीतिज्ञ बन्ने ठूलो इच्छा जाग्यो। ‘पढाइभन्दा लडाइँ ठूलो’ भन्दै त्यसबेला लगाइएको नाराले लोकेन्द्रलाई झनै ऊर्जा मिल्यो। ‘बुर्जुवा शिक्षा’ को कामै छैन भन्ने निक्र्योलमा पुगेका उनी पढाइ छोडेर लडाइँमा होमिने निर्णयमा पुगे। कम्युनिस्ट राजनीतिमा निरन्तर होमिएका उनी तत्कालीन माओवादी द्वन्द्वमासमेत होमिए।
माओवादी सैन्य विभागको राजनीतिक प्रशिक्षकका रूपमा उनले काम गरे। आफ्नो राजनीतिक करिअरमा उनी २३ वर्ष तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेर काम गरे। २०६३ देखि २०७० बिच उनी दुई कार्यकाल सांसद चुनिए। २०७० मा उनी म्याग्दीबाट चुनावमा लडे। तर, हारे। उनले भने, ‘मतदाताले स्थानीय व्यक्ति नै उम्मेदवार खोज्दा रहेछन्, म रुकुमको मान्छेलाई त्यहाँका जनताले रुचाएनन्।’ रुकुमका लोकेन्द्रले अर्का नेता जनार्दनसमक्ष प्रस्ताव गरेका थिए, ‘हामीले आफ्नो जिल्ला छोडेर अरू साथी हेमन्तप्रकाश ओली र गणेशमान पुनलाई उम्मेदवार बनाऔं।’ तर, जनार्दनले लोकेन्द्रको प्र्रस्ताव मानेनन्। उनले थपे, ‘जनार्दनजी रुकुमबाटै लड्नुभयो तर मैले पहिले नै वचन दिइसकेकाले रुकुम छोडें।’
नागरिक दैनिकबाट