Logo

एउटै खोलामा दसवटा जलविद्युत् आयोजना



काठमाडौँ, १६ माघ । एउटा खोलामा कतिवटासम्म जलविद्युत् आयोजना निर्माण हुन सक्छन् रु जोकोहीलाई यसको सजिलो जवाफ दुई अथवा तीन भन्ने लाग्न सक्छ, तर इलामको एउटै मात्र माईखोलामा कुल दसवटा जलविद्युत् आयोजना निर्माण हुँदैछन् ।

यसमा यसअघि सातवटा विद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन नै सुरु गरेका छन्, अब तीनवटा आयोजना पनि एक वर्षभित्र सम्पन्न हुनेगरी धमाधम निर्माणको काम हुँदैछ । पछिल्लो पटक इलाम नगरपालिका र सोयाङबीच पर्ने बीसहातेमा माईखोला हाइड्रो पावरको तीन मेगावाटको सुपरमाई क्यासकेट र ९ दशमलव ८ मेगावाटको माइबेनी हाइड्रोपावरको निर्माण भइहेको छ । यस्तै सुम्बेक र प्याङबीच पर्ने सोमबारे बेँसी छेउमा पनि ९ दशमलव ६ मेगावाटको सगरमाथा जलविद्युत् कम्पनीको सुपरमाइ–ए हाइड्रो पावरको काम भइरहेको छ । यसअघि माईखोलामा सुलुबुङ–माइमझुवा–माबु बीचमा १२ मेगावाटको अपरमाइ हाइड्रो पावर र त्यसकै छ मेगावाटको क्यासकेट सञ्चालनमा छन् ।

बरबोटे र सोयाङबीच माईखोलाको दूधाङबेँसीमा ७ दशमलव ८ मेगावाटको सुपरमाइ हाइड्रोले गत वर्षदेखि उत्पादन सुरु गरेको छ । माईखोलाकै राजदुवाली नजिक हिमाल दोलखा जलविद्युत् आयोजना ७ दशमलव ५ मेगावाट र चिसापानीमा २२ मेगावाटको सानिमा माई हाइड्रो पावर तथा त्यसको आठ मेगावाटको क्यासकेट सञ्चालनमा छन् । राजदुवालीमाथि मेची राजमार्गको सिलपुरबाट माइबेनी शिवालय हुँदै निर्माणाधीन माइबेनी हाइड्रो पावरबाट खोलैखोला कच्ची सडकसमेत विस्तार भएको छ । यहाँबाट सुरु भएको मोटरेवल सडक अपरमाई हाइड्रो भएर जिल्लाको उत्तरी क्षेत्र जमुनासम्म जोडिएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्