काठमाडौँ, २१ माघ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा तेलपानी–भुरीगाउँ सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने महत्त्वाकांक्षी योजना ल्यायो । २० करोड बजेट विनियोजन गर्दै अध्ययनका लागि चिनियाँ कम्पनीसँग छलफल पनि अगाडि बढायो । तर, संघीय सरकारले उक्त काममा रोक लगाएपछि सुरुङ–सपना गर्भमै तुहिएको छ ।
यो एक उदाहरणमात्र हो, कर्णाली प्रदेश सरकारले देखेका ठूल्ठूला सपना संघीय सरकारको असहयोगका कारण बीचमै तुहिने गरेका छन् । संघीय सरकारद्वारा सञ्चालित कतिपय ‘प्रोजेक्ट’माथि आस गर्दासमेत प्रदेश सरकार निराश हुनुपर्ने अवस्था आएको छ । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामाथि प्रदेश सरकारको सुरुदेखि नै नजर परेको थियो । आर्थिक वर्ष ०७५ र ७६ को नीति तथा कार्यक्रममा संघीय सरकारसँग समन्वय गरी उक्त आयोजना सञ्चालन गर्ने उल्लेख छ । बुँदा नं १४७ मा ‘दुई वर्षभित्र भेरी–बबई डाइभर्सन परियोजनामा प्रदेश सरकारको स्वामित्वमा निर्माण गरिने’ उल्लेख छ । यसका लागि प्रदेश सरकारले गत वर्ष फागुनमा संघीय सरकारलाई लिखित पत्राचार गर्यो । मुख्यमन्त्रीसहितको टोलीले काठमाडौं गएर प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई भेट्यो । संघीय सरकारले भने प्रदेशको कुरा सुनेन । त्यसपछि गत वैशाख पहिलो साता सुर्खेतको चिप्लेमा आयोजित आयोजनाको टनेल ‘ब्रेक थ्रु’ कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गर्दै भने, ‘नयाँ वर्षमा संघीय सरकारले भेरी–बबई कर्णालीलाई उपहार देओस् ।’
प्रदेशको अपेक्षामाथि प्रधानमन्त्रीले बोल्नै परेन । उनीभन्दा अघि बोलेका ऊर्जामन्त्री वर्षमान पुनले भेरी–बबई डाइभर्सन ‘जनताको जलविद्युत् कार्यक्रम’मार्फत संघले नै निर्माण गर्ने स्पष्ट पारे । प्रदेश सरकार, स्थानीय तह र जनतासँग साझेदारी गरिने उनको भनाइ थियो । अहिले उक्त आयोजनाको काम यही मोडेलमा अघि बढिरहेको छ । आयोजना कार्यालयका अनुसार २६ प्रतिशत संघीय सरकार, २० प्रतिशत कर्णाली प्रदेश सरकार र ५ प्रतिशत सम्बन्धित स्थानीय तहलाई सेयर दिने गरी प्रक्रिया अघि बढेको छ । बाँकीमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका जनता, १० प्रतिशत कर्णाली प्रदेशका जनता र २९ प्रतिशत देशभरका जनताले सेयर पाउने छन् । प्रदेश सरकार भने भेरी–बबईको बाँधस्थलबाट ९ मेघावाटको छुट्टै आयोजना सञ्चालनका लागि संघीय सरकारसँग सहयोग मागिरहेको छ ।
कान्तिपुर दैनिकबाट