Logo

नेपाल टेलिकमको वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाको गर्जन (भिडियोसहित)



माघ २२, काठमाण्डौ । नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरे । वार्षिकोत्सवलाई सम्बोधन गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा पुगेका थिए । कर्मचारीको माग र आन्दोलनप्रति बास्कोटा आक्रोषित देखिएका छन् ।

सरकारी स्वामित्वको धेरै संस्थानमध्ये नेपाल टेलिकम मात्रै एउटा त्यस्तो संस्थान हो जो पछिल्ला वर्षहरुमा निरन्तर नाफा कमाउन सफल भएको छ । तर यो संस्थानभित्र हुने राजनीतिले नकारात्मक सन्देश फैलिन थालेको छ । बुधबार टेलिकममो १६ औँ वार्षिकोत्सव कार्यक्रममा पनि अनौठो दृश्य देखियो । धुमधामसँग वार्षिकोत्सव कार्यक्रम आयोजना गरिए पनि केही कर्मचारीहरु भने विरोधमा उत्रिएका थिए ।

कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृत्ति विकासका काममा प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमा आफ्ना मागसहितको प्ले कार्ड भिरेर विरोध गरेका थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफ्नै अगाडि वार्षिकोत्सवका दिन नै विरोध कार्यक्रम गरेको देखेपछि आक्रोष व्यक्त गरे । आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब राख्ने चेतावनी दिँदै बानस्कोटाले कुनै पनि संस्थाको वार्षिक उत्सव आमाको जन्मोत्सव जस्तै भएको भन्दै खुसी हुनुपर्नेमा शंख बजाएर शोक मनाउन खोजेको आरोप लगाए ।

टेलिकमको वार्षिकोत्सवका अवसरमा कार्यप्रगति प्रस्तुत गरिएको थियो । गएको १ बर्षमा संस्थाले निकै चुनौति भोग्दै सफलता हासिल गरेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको दावी थियो । फोरजी परियोजना अन्र्तगत सम्झौता सम्पन्न गरी एक बर्षभित्र ७७ वटै जिल्लामा सेवा बिस्तार गरेको, १ बर्षमा मात्र मोबाइल सेवाको बिस्तारको लागी बरिव ३ सय ४० नयाँ टावर जडान गरी बिटिएस सञ्चालन ल्याई सेवा बिस्तार गरेको जानकारी दिइएको थियो ।

नेपाल टेलिकम समग्रमा सफल संस्थानको रुपमा स्थापित भएको छ । तर यसभित्र पनि बेथिती र अनियमितता मौलाइरहेको कतिपयको आशंका छ । कर्मचारी र मन्त्रीबीच नै झगडा जस्तो देखिने गरी जुहारी चल्न थालेपछि अबका दिनमा टेलिकम थप कमजोर हुने हो कि भन्ने संकेत पनि देखिएको छ । त्यसैले सरकार र कर्मचारीबीचको बेमेललाई तत्काल समाधान गरी संस्था बलियो र विश्वासिलो बनाउनतर्फ सबैको ध्यान जाओस् ।



प्रतिक्रिया दिनुहोस्