Logo

राष्ट्रिय संवादको तयारी पूरा



काठमाडौं, माघ २४ । ‘सगरमाथा संवाद’को पूर्व तयारीका रूपमा सरकारले गर्न लागेको राष्ट्रिय संवादको सबै तयारी पूरा भएको छ । सरकारले आगामी चैत २०–२२ गते सगरमाथा संवादको आयोजना गर्दैछ । त्यसको पूर्वाभ्यासका रूपमा भने यही माघ २६ गते आइतबार राष्ट्रिय संवाद गर्न लागिएको हो ।

‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ को नारा राष्ट्रिय संवादका लागि तय गरिएको सगरमाथा संवाद सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालयको आयोजनामा काठमाडौँमा हुने राष्ट्रिय संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

सचिवालय संयोजक कुमारराज खरेलले हामी अन्तिम तयारीमा जुटेका छौँ । राष्ट्रिय संवादमा आएका निष्कर्षलाई सगरमाथा संवादमा नेपालका तर्फबाट प्रस्तुत गरिनेछ भन्नुभयो । उहाँका अनुसार नेपालका तर्फबाट विश्वमाझ प्रस्तुत गर्ने साझा अवधारणा र खाका राष्ट्रिय संवादले नै तयार गर्नेछ ।

अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद सफल तुल्याउन राष्ट्रिय संवादले भूमिका खेल्ने खरेलले बताउनुभयो । राष्ट्रिय संवादमा विभिन्न पाँचवटा सत्र हुनेछन् । चारवटा सत्र एकैसाथ सञ्चालन हुनेछन् । जस अनुसार पहिलो सत्रमा ‘अनुकूलन, सहजपन र जीविका’ शीर्षकमा छलफल हुनेछ । यस सत्रमा खाद्य तथा जल सुरक्षा र जलवायु परिवर्तनले ल्याउने विपत्तिका बारेका बहस गरिनेछ ।

त्यस्तै दोस्रो सत्रमा ‘हरित अर्थ व्यवस्था र ऊर्जा’ शीर्षकमा छलफल हुनेछ । जसमा जनताका लागि आवश्यक नीति, समृद्धि र विविध क्षेत्रका बारेमा छलफल गरिनेछ । तेस्रो सत्रमा भने ‘परिवर्तनकारी समाधान’ शीर्षकमा विशेष बहस हुनेछ । जस अन्तर्गत प्रविधिमा लगानी र आविष्कार तथा प्राकृतिक पद्धतिमा आधारित समाधान एवं परम्परागत ज्ञानको चर्चा गरिनेछ ।चौथो सत्रमा ‘प्रकृतिसँग बाँच्नका लागि सद्भाव’ शीर्षकमा नागरिक संवादको आयोजना गरिनेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्