काठमाडौं, २४ माघ । देशमा विद्युत्को माग बढ्दै गर्दा स्वदेशी उत्पादन नबढे पनि भारतसँगको निर्भरता भने बढ्दै गएको छ । यसका कारण चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भारतबाट झण्डै पाँच अर्ब रुपैयाँबराबरको विद्युत् आयात भएको छ । चालु आ.व.को गत जुलाई २०१९ देखि डिसेम्बर २०२० सम्मको अवधिमा नेपाल विद्युत् प्राधिकरणले भारतबाट पाँच अर्ब छ करोड ८१ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । जबकि गत वर्षको यही अवधिमा नेपालको विद्युत् आयात चार अर्ब ८३ करोड ५२ लाख रुपैयाँको मात्र थियो । यसरी हेर्दा यो वर्ष गत आ.व.को तुलनामा २३ करोड रुपैयाँ बढीको विद्युत् आयात भएको छ ।
प्राधिकरणले जनाएअनुसार गत आ.व.को पहिलो पाँच महिनामा चार अर्ब ८३ करोड रुपैयाँको ५४ करोड ७५ लाख युनिट विद्युत् भारतबाट आयात गरिएको थियो । चालु आ.व.को सोही अवधिमा भने पाँच अर्ब छ करोड रुपैयाँको ६१ करोड ८१ लाख युनिट विद्युत् आयात भएको छ ।
अघिल्लो आ.व.मा प्राधिकरणले भारतबाट २०७४-७५ मा १९ अर्ब १० करोड ८६ लाख रुपैयाँको दुई अर्ब ४३ करोड ५८ युनिट विद्युत् आयात गरेको थियो । गत आ.व.मा भने २२ अर्ब ७० करोड रुपैयाँको दुई अर्ब ७७ करोड ४९ लाख युनिट विद्युत् आयात भएको थियो– जुन अघिल्लो वर्षको तुलनामा ३५ करोड युनिट र साढे तीन अर्ब रुपैयाँ बढी भुक्तानी भएको थियो ।
गत वर्षको तुलनामा यो वर्ष एक सय ५० मेगावाट हाराहारी विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिए पनि भारतसँगको परनिर्भरतामा भने कुनै फरक परेको छैन । विद्युत् उत्पादन थपिए पनि वर्षायाममा बाढी र पहिरोका कारण पुराना चालु आयोजनाले क्षमताअनुसारको उत्पादन गर्न नसक्दा भारतबाट आयात हुने विद्युत्को हिस्सा नघटेको प्राधिकरणले जनाएको छ । गत वर्षको तुलनामा हाल करिब एक सय ५० मेगावाट विद्युत् थपिए पनि भारतबाट आयात हुने विद्युत्को हिस्सा भने वर्षाकालमा पनि बढेको छ । अहिले राष्ट्रिय प्रसारण प्रणालीमा करिब एक हजार एक सय ५० मेगावाट विद्युत् जडित क्षमता छ । जबकि गत वर्ष यो समयमा एक हजार मेगावाट हाराहारीमात्रै जलविद्युत् उत्पादन क्षमता थियो ।
चालु आ.व.भित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत्सहित करिब एक हजार मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने पक्का छ । तर अहिले आउन लागेका जलविद्युत् आयोजनामा माथिल्लो तामाकोशी अर्धजलाशययुक्त आयोजना भए पनि अरू सबै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना रहेकाले हिउँदमा विद्युत् आयात पूर्णरूपमा हटाउन नसकिने प्राधिकरणले बताएको छ ।
नेपालसँग जलाशययुक्त आयोजनाको अभाव रहेकाले अझै केही वर्ष हिउँदमा भारतीय विद्युत्कै भर पर्नुपर्ने छ । वर्षायाममा भने सबै आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्ने भएकाले विद्युत् उत्पादन बढी हुने अवस्था आउने छ । बढी हुने विद्युत् स्वदेशमै खपत गराउनका लागि प्राधिकरण अहिले विद्युतीय चुल्होदेखि विद्युतीय गाडीसम्मको प्रवर्धन कार्यमा जुटेको प्राधिकरणस्रोतले बताएको छ ।-विमर्श साप्ताहिकबाट