काठमाडौं, २४ माघ । ‘हलो’कै कारण मिल्नै लागेको दुई राप्रपाबीचको एकता अन्तिममा आएर बिथोलिएको छ । पटक-पटक एकताका लागि भन्दै वार्तामा बस्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीचको पछिल्लोपटकको एकता वार्ता भने निर्वाचन चिह्नको विवादका कारण भाँडिएको हो । एकीकृत दलको निर्वाचन चिह्न ‘हलो’ वा ‘गाई’ भन्ने विषयमा सहमति कायम हुन नसकेपछि राप्रपाको वार्ता तत्कालका लागि फेरि टरेको हो ।
कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनीनेतृत्वको राप्रपा संयुक्तबीचको एकता गर्ने विषयमा तीनै जना संयुक्त अध्यक्ष रहने सहमति कायम गर्दै एकता वार्ता अघि बढेको थियो तर अन्तिममा आएर निर्वाचन चिह्न के रहने भन्ने विषयमा सहमति कायम हुन नसकेपछि एकता प्रक्रिया अवरुद्ध भएको हो । पार्टी एकता गर्ने विषयमा दुवै दलका अध्यक्षबीच चरणबद्ध छलफल भएका थिए । एकताका लागि वातावरण बन्दै गएकोमा दुवै दलका नेता तथा कार्यकर्तामा एक प्रकारको उत्साह जागरण भएको थियो । तर, अन्तिम समयमा आएर तत्कालका लागि एकता टरेको राप्रपा प्रचार विभागप्रमुख मोहन श्रेष्ठले जानकारी दिए। ‘एकताका सन्दर्भमा सबै विषयमा लगभग सहमति थियो तर निर्वाचन चिह्न के हुने भन्नेमा सहमति जुट्न नसकेकै कारण तत्कालका लागि एकीकरण प्रक्रिया रोकिएको छ,’ राप्रपा प्रचार विभागप्रमुख श्रेष्ठले बताए ।
दुवै राप्रपा दलमा आबद्ध नेताले हाल कायम रहेका आ÷आफ्ना निर्वाचन चिह्न रहनुपर्ने अडान लिएपछि तत्कालका लागि एकता टरेको हो । थापानेतृत्वको दलले भने निर्वाचन चिह्नको विषय महाधिवेशनबाट टुंग्याउनेगरी सहमतिमा जान सकिने बताएको थियो । राप्रपा संयुक्तका प्रवक्ता जनक पाठकले महाधिवेशनबाहेकबाट नेतात्रयको सहमतिमा निर्वाचन चिह्नको विवाद मिलाउँदा एकता तत्काल हुने बताए ।
‘निर्वाचन चिह्नको विषय महाधिवेशनले टुंग्याउने अडानका कारण सहमति जुट्न सकेन, नेतात्रयले महाधिवेशनबाट बाहेक चिह्नको विवादमा सहमति खोज्दा तत्काल एकता हुन्छ, बल थापाको कोर्टमा छ,’ राप्रपा संयुक्तका प्रवक्ता पाठकले भने । हाल थापानेतृत्वको राप्रपाको निर्वाचन चिह्न ‘गाई’ र राणा र लोहनीनेतृत्वको राप्रपा संयुक्तको चिह्न ‘हलो’ छ । गत शुक्रवारदेखि काठमाडौंमा जारी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक प्रतिवेदनसहितका अन्य प्रतिवेदन पेश गरेपछि एकताबारे दुबै दलबीच अन्तिम छलफल भएको थियो ।
छलफलका क्रममा एकतापछिको दलमा तीनजना अध्यक्ष रहने, राप्रपालाई ५५ र राप्रपा संयुक्तलाई ४५ प्रतिशत भागबन्डा गर्ने र दलको झन्डा थापानेतृत्वको दलको नै राख्ने सहमति भएको थियो । जारी केन्द्रीय समितिको बैठकमा राप्रपाले पार्टी एकता र महाधिवेशन दुवै गर्ने विकल्प खुला राखेको छ । यसअघि ६ फागुन २०७३ मा राप्रपा समूहहरूको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनभन्दा अघि २२ भदौ २०७४ मा पार्टी विभाजित भएको थियो । राप्रपा समूहमा स्थापनादेखि नै टुटफुटको शृंखला चल्दै आएको छ । हाल ‘गाई’ चिह्न रहेको राप्रपाको प्रतिनिधिसभामा एक, प्रदेश सभामा तीन र स्थानीय तहमा १५ जना प्रतिनिधि छन् । राप्रपाको जारी बैठकमा शनिवार सातवटै प्रदेशका अध्यक्षले आ÷आफ्नो प्रतिवेदन पेश गरेका छन् । शनिवारबाटै सबै प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
जेठमा महाधिवेशन
यस्तै थापानेतृत्वको राप्रपाको गत माघ १७ बाट थालिएको केन्द्रीय कार्य समितिको बैठकले दलको महाधिवेशन आगामी जेठ २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । उक्त बैठकले महाधिवेशनका सम्पूर्ण प्रतिनिधि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्ष रूपमा निर्वाचित भएर आउने नयाँ व्यवस्थासमेत गरेको छ । बैठकले धर्म परिवर्तन गर्ने÷गराउने कार्यलाई निरुत्साहित गर्न तथा यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न बैठकले सरकारसँग माग गरेको छ । हिन्दू राष्ट्रलगायत लोकतन्त्रको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधानजस्ता विषयलाई लिएर फागुन र चैतमा विभिन्न जिल्लामा स्वाभिमान यात्रा सञ्चालन गरिने दलले जनाएको छ । बैठकले नेपालको पूर्वाधार विकासको निमित्त अमेरिकी सरकारको आर्थिक सहायताका देखापरेका विवाद र बहसबारे धारणा स्पष्ट पार्न सरकारसँग आग्रह गर्दै बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता नेपालको अविभाज्य भूमि भएकाले अतिक्रमित भूमि फिर्ता गराउन तथा कालापानीबाट भारतीय सेना फिर्ता गराउन प्रभावकारी कूटनीतिक प्रयास चाल्न सरकारसँग माग गरेको छ । यस्तै चीनमा कोरोना भाइरसबाट प्रभावित क्षेत्रका नेपालीलाई तत्काल उद्धार गर्न, स्वदेश ल्याउन र संक्रमित देखिएमा उच्च सावधानीका साथ चिकित्सकीय सुविधा तथा उपचारको प्रबन्ध गर्नसमेत सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । –विमर्श साप्ताहिकबाट