काठमाडौं, २४ माघ । ललिता निवास जग्गा प्रकरण जुन योजनामुताबिक उचालिएको थियो त्यसले देशको राजनीतिमा समेत फेरबदल ल्याउने मार्ग कोरेको छ । ललिता निवास जग्गामा ठूलै हिनामिना भएको लामो समय बितिसक्दा पनि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि यो उचालियो । ओलीले आफ्नो शक्ति सञ्चय गर्ने र पार्टीभित्र र बाहिरका विरोधीलाई ठेगान लगाउने हतियारका रुपमा यसलाई प्रयोग गरे जसका लागि उनले तत्कालिन गृहमन्त्री प्रेमकुमार राई देखि पूर्व सचिव शारदाप्रसाद त्रिताललाई अगाडि बढाए ।
प्रेमकुमार राईको ठाडो निर्देशनमा सीआइबीले यसको गहिरो छानविन गरेको थियो । अख्तियारले त पछि मात्र यसबारे फाइल र विवरण संकलन गरेर मुद्दा अगाडि बढायो । ललिता निवास प्रकरणबाट ओलीले पार्टीभित्र माधवकुमार नेपाललाई साइजमा ल्याएका थिए । यतिसम्मकी डा. बाबुराम भट्टराईलाई समेत साइजमा राख्ने अवस्था बनाए । यो काण्डमा मुछिएका दुवैले यत्तिकै छुटकारा पाएका होइनन् । न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलले समेत सफाई पाए । उनीहरुले सफाई पाउनु अर्थपूर्ण मानिएको छ ।
ललिता निवास प्रकरणमा सफाई पाउन माधवकुमार नेपालले बालुवाटारमा पुगेर सांरगी नै बजाउनुप¥यो । बाबुराम भट्टराई पछिल्लो समय चर्का कुरा गर्न छाडेका छन् । ओलीले ललितानिवास प्रकरणबाट धेरैलाई साइजमा ल्याएको यसैबाट बुझ्न सकिन्छ । तर, ललितानिवास प्रकरणमा चारजना पूर्वमन्त्री मुछिएकामा दुईजना नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाका निकटस्थ मानिन्छन् । काँग्रेस उपसभापति विजयकुमार गच्छेदारबाट देउवाले धेरै भरोसा गरेका छन् । काँग्रेस महाधिवेशन अर्को वर्षभित्र गर्नुपर्ने परिस्थितिका बीच देउवाले गच्छेदारको साथबाट स्पष्ट बहुमतका साथ जित्ने आशा राखेका थिए । फोरम लोकतान्त्रिक काँग्रेससँग मिसिंदा केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्यको संख्यासहित पाउने सहमति त्यसै भएको होइन । यसबाट देउवाले पल्लाभारी बनाउन खोजेका थिए । तर, गच्छेदारमाथि भ्रष्टाचारको गम्भीर मुद्दा लागेपछि उनी स्वतः कमजोर भएका छन् ।
गच्छेदार कमजोर हुनु भनेको देउवाको रणनीतिमा ठूलो धक्का हो । गच्छेदारलाई पार्टी उपसभापति बनाइसकेका उनले आगामी महाधिवेशनमा लाभ लिने योजना बुनेका थिए । गच्छेदार पक्षधरको ठूलो पंक्तिलाई क्रियाशील सदस्यता दिलाएर महाधिवेशन प्रतिनिधिमा केही सय थपिंदा पल्लाभारी हुने उनको रणनीति थियो । त्यसो हुँदा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरालासहितको कोइराला परिवार, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला मिल्दा पनि केही नलाग्ने ठम्याई थियो । तर, राजनीति यसरी मोडिदै गयो कि अब देउवाका लागि गच्छेदार सोचेजस्तो भरोसा रहेनन् । अख्तियारमा मुद्दा परेपछि गच्छेदारको राजनीतिमा मात्र धक्का लागेर देउवाको रणनीतिमा समेत धक्का लाग्न पुग्यो ।
ओलीलाई भनेर ललिता निवास प्रकरणमा जोगाउने देउवाको आश्वासन पनि हावा सावित भएको छ । यतिसम्मकी देउवा निकटस्थ भनी चिनिएका अर्का पूर्वमन्त्री छविराज पन्त समेत जोगिएनन् । जबकि पन्त ललिता निवास जग्गा प्रकरणमा कुनै नीतिगत निर्णयमा सहभागी नभएको जिकिर गर्दै आइरहेका थिए । यो घटनाबाट ओलीले देउवालाई नराम्रो लप्वा खुवाइदिए । ओलीले देउवालाई फेरि एकपटक प्रयोग गरेर फालिदिए । जसका कारण आगामी महाधिवेशनमा पनि देउवा कमजोर हुने अवस्था बनिसकेको छ ।
काँग्रेसभित्रको आन्तरिक राजनीतिमा अख्तियारको मुद्दा प्रकरणले कोइराला परिवारलाई भने सबैभन्दा लाभ पुगेको छ । महामन्त्री डा. सशांक कोइराला देउवाविरुद्ध चुनावी मैदानमा आउने तयारीमा रहेका छन् । कोइरालाहरुको गृहथलो विराटनगर र सुनसरीमा देउवाको चेक एन्ड ब्यालेन्स कमजोर बन्ने अवस्था रहनु कोइराला परिवारका लागि सुदुर भविष्यका लागि लाभदायी बनेको छ । त्यसैले पनि अख्तियारको कदमपछि कोइराला परिवारले तत्काल प्रतिक्रिया जनाइसकेका छैनन् । बरु वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलिसके ।
गच्छेदार कमजोर बनाइनु देउवाका लागि ठूलो धक्का बन्न पुग्दा आउँदो महाधिवेशनसम्म नेपाली काँग्रेसभित्र ठूलो राजनीतिक तरंग आइसक्ने संकेतहरु देखापरिरहेको छ । देउवाले आफ्नो पल्लाभारी बनाउने चालेका कदमहरु विस्तारै भुत्ते सावित हुने अवस्था बन्दै गएको छ । पछिल्लो समय महामन्त्री डा. सशांक कोइराला देउवाविरुद्ध त्यसै आक्रामक रुपमा प्रस्तुत भइरहेका होइनन् भन्ने घटनाक्रमले देखाउँदै लगेको छ । देउवाका एकपछि अर्को रणनीति कमजोर सावित हुँदै जाँदा सशांक कोइरालाले आफूलाई भावी सभापतिका रुपमा उभ्याउँदै लगिरहेका छन् ।-विमर्श साप्ताहिकबाट