Logo

आठ करोड लिई फरार सहकारीकर्मी समातिएनन्



वीरगन्ज, माघ २५ । वीरगन्ज बजारबाट सर्वसाधारण बचतकर्ताका करिब आठ करोड रुपैयाँ लिएर ‘प्राइम बचत तथा ऋण सहकारी संस्था’ का सञ्चालकहरू फरार भएको ११ महिना बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन्।

पतिको मृत्युपछि एकल जीवन गुजारा गरिरहेकी वीरगन्ज–२ छप्कैयाकी ५० वर्षीया सैनाहा खातुन भिक्षावृत्ति गरेर बिहान–बेलुकाको छाक टार्ने गर्छिन्। ‘बचत गर्नू, भैपरी आउँदा पैसाको समस्या हुँदैन,’ भनी गैरुल नेसाले उनलाई प्रेरित गरेपछि प्राइम सहकारीमा खाता खोलेर उनले दैनिक बचत थालिन्। समयअन्तरमा करिब १३ हजार रुपैयाँ बचत पुगेको उनको पासबुकमा देखिन्छ। तर त्यौ पैसाको जबाफदेही यतिबेला कोही छैनन्।

वीरगन्ज, छपकैयाकै देवनारायण भँडेलको परिवारमा तीन जनाको नाममा रहेको बचत खातामा डेढ करोड रुपैयाँ जम्मा भएको थियो, सोही सहकारीमा। तर सो पैसा अब कहाँ गएर लिने, कोसँग माग्ने रु केही अत्तोपत्तो छैन। सहकारीका सञ्चालक अलप हुँदा उनीहरूजस्तै वीरगन्ज क्षेत्रका सयौं सर्वसाधारण समस्या छन्।

आफूहरूको लाखौं रुपैयाँ ठगी हुँदा पनि प्रहरी–प्रशासनले साथ नदिएको सहकारीपीडितहरूको दुखेसो छ। ११ महिनाअघि २०७५ चैत २० मा सहकारीको लिंकरोडस्थित कार्यालयमा ताला लगाएर अध्यक्ष राजेशकुमार पटेल, कोषाध्यक्ष राजेशकै पत्नी रिता पोखरेल तथा अन्य पदाधिकारी र कर्मचारीहरू सम्पर्कविहीन भए। सो घटनापछि पीडितले २०७५ चैत २८ गते जिल्ला प्रशासन कार्यालय पर्सामा संयुक्त उजुरी दिए। लगत्तै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा पनि जाहेरी दिए। तर ठगहरूविरुद्धको कारबाही प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। जिल्ला प्रशासन र जिल्ला प्रहरीबाट आफूहरूलाई असहयोग भइरहेको पीडितहरूको आरोप छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्