Logo

८९ प्रतिशतलाई आधारभूत खानेपानी



काठमाडौँ, २७ माघ । खानेपानी मन्त्रालयले हाल ८९ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँचमा पुगेको जनाएको छ । पानी नआए पनि पूर्वाधार भने पुगेको जनाइएको छ । मन्त्रालयको वार्षिक समीक्षा प्रतिवेदन अनुसार सन् २०१० सम्म ८१ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी सेवा पुगेकोमा हाल ८९ प्रतिशतलाई आधारभूत खानेपानी सेवा पुगेको दाबी गरेको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सन् २०१५ सम्म १५ प्रतिशत जनसङ्ख्यालाई मध्यम स्तरको गुणस्तरीय खानेपानी सेवा पुगेकोमा हाल उक्त सेवास्तरको खानेपानी २१ प्रतिशत जनसङ्ख्यालाई उपलब्ध भएको छ । गएको दुई वर्षमा ६६ वटा सहरी तथा अर्ध सहरी खानेपानी आयोजनाहरू सम्पन्न भई पाँच लाख ६७ हजार ७८ अर्थात् दुई प्रतिशत जनसङ्ख्या उच्च तथा मध्यम स्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । मन्त्रालयले आकस्मिक र विपद् व्यवस्थापन तथा ग्रामीण बस्तीलाई समेत सेवा प्रदान गर्न सातवटै प्रदेशमा एक एकवटा वाटर एम्बुलेन्स ९पानी परीक्षण घुम्ती भ्यान० सञ्चालनमा ल्याइएको छ । गत असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी दक्षिण एसियामा खुला दिसामुक्त घोषणा गर्ने नेपाल पहिलो राष्ट्र भएको मन्त्रालयको भनाइ छ । शौचालय निर्माण गरेर गरिएको घोषणाले शतप्रतिशत जनसङ्ख्यालाई आधारभूत सरसफाइमा पु¥याइएको प्रवक्ता शाक्यले बताउनुभयो ।

शाक्यको भनाइ छ । “सुख्खा र पहाडी बस्तीहरूमा खानेपानी सुविधा उपलब्ध गराउन एक हजार मिटरमाथि सम्म पानी पम्प गर्ने तीनवटा मल्टिस्टेजलिफ्ट प्रणालीका आयोजनामार्फत २३ हजार ५६१ जनसङ्ख्यालाई उच्च तथा मध्यम स्तरको खानेपानी सेवा उपलब्ध गराइएको छ ।” आगामी पाँच वर्षमा २९ वटा मल्टिस्टेजलिफ्ट एक हजार चार सय मिटर उचाइसम्म पानी तान्ने आयोजना सम्पन्न गरी करिब तीन लाख जनसङ्ख्यालाई सेवा पु¥याउने मन्त्रालयको लक्ष्य छ । वि.सं. २०७२ सालको भूकम्पबाट क्षति पुगेका १३ सय खानेपानी आयोजनामध्ये हालसम्म ५०८ वटा खानेपानी आयोजनाको पुनःनिर्माण तथा पुनःस्थापना कार्य सम्पन्न भई दुई लाख १३ हजार नौ सय ४२ जनसङ्ख्या लाभान्वित भएका छन् । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समग्रमा हालसम्म कुल भौतिक प्रगति ९५ प्रतिशत भएको छ । चालू आर्थिक वर्षभित्र मेलम्चीको दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा आउने शाक्यको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्