काठमाडौं, २७ माघ । चीनको हुबेई प्रान्तमा नोवेल कोरोना भाइरसको संक्रमण बढेपछि त्रासमा रहेका सन्तानलाई स्वदेश ल्याउन विभिन्न मन्त्रालय पुगेका अभिभावकहरूलाई मन्त्री र कर्मचारीको ओठे जवाफ हुन्छ, ‘हामीले सबै बुझेका छौं। तयारी गर्दैछौं। तुरुन्तै उद्धार हुँदैछ।’
कहिले हुन्छ उद्धार रु प्रश्नसहित उनीहरू तीन साता विभिन्न मन्त्रालय चहारे। मन्त्रीलगायत सरकारी उच्च कर्मचारीसँग अनुनय विनय गरे। राष्ट्रिय मानव अधिकार आयोगको परिसर पुगेका अभिभावकले आइतबार व्यथा सुनाउँदै गर्दा आँसु झारे। आयोगका अध्यक्ष अनुपराज शर्मासँग आग्रह गरे, ‘मन्त्री र कर्मचारीले हाम्रा कुरै सुन्न चाहँदैनन्। सन्तानको जीवन रक्षा गरि पाउँ।’ कोरोना भाइरस सुरुवात भएको प्रान्तमा बसिरहेका सन्तान बचाइदिन एक हुल अभिभावकले आयोग अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाए। अभिभावक उमेशबहादुर सिंहले छिटो उद्धार गर्नुपर्नेमा ढिलाइ भइरहेकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘सरकार सुतेजस्तो लाग्यो। निद्रामा परेको सरकारलाई ब्युँझाउने काम गर्नु पर्यो।’ अन्य मुलुकले आफ्ना नागरिकको उद्धार गर्दा पनि नेपालले बेवास्ता गरिरहेकोमा अभिभावक आक्रोशित भए। छिमेकी भारत, बंगलादेश र श्रीलंकाले आफ्ना नागरिकलाई उद्धार गरिसकेका छन्। चीनले वुहानबाट स्वदेश फर्किनेहरूको स्वास्थ्य जाँच गर्ने भएकाले अभिभावकले डराउनु नपर्ने बताए।
(अन्नपूर्ण पोष्ट्बाट)