Logo

जब चिप्लियो मुख्यमन्त्रीको जिब्रो



काठमाडौं, माघ २७ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत शुक्रबार मिथिलाका अगुवा महिलाहरूको भेलामा भनेछन्, ‘मेरो कार्यकालमा छोरीहरूलाई यति सक्षम बनाउनेछु कि छोरीहरूले अब छोराको मुखमा एसिड खन्याउनेछन् ।’ आफू मुख्यमन्त्री भएदेखि नै छोरीहरूबारे सोच्दै आएको बताउने राउतले यस पटक भने अति नै सोचेछन्, जसको चौतर्फी आलोचना भइरहेको छ ।

हुन त उनको आशय गलत थिएन भन्ने लाग्छ । उनले ‘अब मधेसका छोरीहरूलाई पनि छोराहरूजस्तै हिम्मतिला बनाउँछु’ भन्न खोजेका थिए सायद । तर जिब्रो चिप्लियो ।अझ भनूँ, शब्दचयन ठीक भएन । मुख्यमन्त्री जस्तो पदमा रहेको व्यक्तिले सार्वजनिक स्थानमा के कसरी बोल्ने भन्ने कुराले महत्त्व राख्छ ।

जिब्रो चिप्लिँदा उच्चपदस्थहरू बारबार अप्ठेरोमा परेका उदाहरण धेरै छन् । गत वर्ष कानुनमन्त्री शेरबहादुर तामाङको जिब्रो चिप्लिँदा सार्वजनिक रूपमा माफी माग्नु मात्रै परेन, छँदाखाँदाको मन्त्री पद चट भयो । उनले बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै अभद्र टिप्पणी गरेका थिए ।

खुट्टा चिप्लिए बरु सजिलै उठ्न सकिएला, तर ठाउँ–कुठाउँ जिब्रो चिप्लिने मान्छे फेरि खडा हुन सक्ने सम्भावना कमै हुन्छ । त्यसैले बूढापाकाले भन्ने गरेका हुन्— जिब्रोलाई सम्हालेर राख्नुमै सबैको हित हुन्छ । यति महत्त्वपूर्ण हुन्छ जिब्रो । जिब्रोले मानिसको स्वभाव र व्यक्तित्वको पहिचान दिन्छ ।

कुनै पनि व्यक्तिको क्षुद्रता र शालीनता जिब्रोले निर्धारण गर्छ । मान्छेलाई असल वा खराब बनाउने जिब्रोले नै हो । त्यसैले बोल्दा होस पुर्‍याउनुपर्छ । आफू मुख्यमन्त्री भएदेखि नै ‘बेटी बचाउ र बेटी पढाउ अभियान’ मा लागिपरेका राउतले बोल्दा होस नपुर्‍याएकै कारण सबैको तारो बने ।कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्