Logo

कांग्रेसले अब गच्छदारलाई साथ नदिने !



काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रष्टाचार काण्डमा मुछिएका आफ्ना उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारको बचाउमा अब साथ नदिने भएको छ । आज पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले विशेष अदालतमा मुद्दा दायर भैसकेको अवस्थामा अब पार्टीले उनको बचाउमा सकड संघर्ष र सदन अवरोध गर्नुको कुनै अर्थ नहुने धारणा राखेका थिए ।

पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य गगन कुमार थापाले यो विषय अदालतमा पुगेकोले अब गच्छदार आँफैंले यो विषयमा लड्नुपर्ने धारणा राखे । उनले सम्बन्धित नै नभएको मन्त्रालयबाट यो प्रकरणमा क्याविनेटमा प्रस्ताव लैजानुको कारण के थियो ? भन्दै गच्छदारलाई प्रश्न गरेका थिए । महामन्त्री डा. शशांक कोइरालाले पनि सुरुदेखि नै यो प्रकरण अदालतमा पुगिसकेकोले अब सडक संघर्ष र सदन अवरोध गर्न नहुने बताउँदै आएका छन् ।

हुन त गच्छदारको बचाउमा पार्टीले लगातार संसद समेत अवरुद्ध गर्दै आएको छ । यसले पनि पार्टीलाई निकै आलोचित तुल्याएको छ । धेरैजसो बुद्धिजिवीले कांग्रेस गच्छदारसँगै शति जान लागेको छ भनेर टिप्पणी गरेका छन् । काँग्रेसले ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैँमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको जनाएको छ ।

आजको बैठकले आयोगले पार्टीका उपसभापति गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको आरोप लगाएको हो । “यो कार्य राजनैतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ, यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ”, बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गच्छदारको बचाउ हैन, भ्रस्टाचारको गहिरो छानविनको माग : कांग्रेस

 



प्रतिक्रिया दिनुहोस्