Logo

ओली पक्षधर नेताहरूको ‘गोप्य’ बैठक



काठमाडौँ, २८ माघ । पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले ‘रणनीतिक’ बैठक गरेका छन् । काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको भेलामा सरकार र पार्टीको काम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सहभागी एक नेताले बताए ।

‘जति हैन भनेर दाबी गरे पनि केन्द्रीय कमिटी बैठकमा हाम्रो स्थिति अलि रक्षात्मक भयो । सरकारको काममा पनि आलोचना हुन थाल्यो,’ ती नेताले कान्तिपुरसँग भने, ‘त्यसैले पार्टी र सरकारमा अझै कसरी प्रभावकारी उपस्थिति हुन सक्छ भन्नेबारे कुराकानी गर्न जुटेका हौं ।’ यसरी छलफलमा जुट्नुको कारण भने प्रधानमन्त्री ओलीकै चाहना रहेको उनले बताए । सरकारको नियमित काम, एमसीसी, यति होल्डिङ्ससँगको साइनोलगायत विषयमा सरकार र प्रधानमन्त्री ओलीलाई अनावश्यक घेराबन्दीमा पारिएको भन्ने मुद्दा छलफलका एजेन्डा थिए । ‘यी विषय पनि छलफलमा आए । पार्टी र सरकारमा कसरी प्रभावकारी उपस्थिति जनाउने भन्ने बारेमै कुराकानी भयो,’ उनले भने । सरकारका राम्रा कामको प्रचारप्रसारमा कमी भएको र पार्टीमा पनि आफ्नो पक्षभन्दा अरू पक्ष हाबी हुन खोजेको विषयमा गम्भीर समीक्षा भएको उनले बताए ।

छलफलका सहभागीमध्येका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने उक्त भेट कुनै रणनीतिक छलफलका लागि आयोजना नगरिएको दाबी गरे । उक्त छलफल अनौपचारिक जमघट भएको उनको भनाइ थियो । ‘पैंतीसौं वर्ष सँगै काम गरेका साथीहरू कोही मन्त्रीका सल्लाहकार भएका छन्, कोही मन्त्री भएका छन्,’ उनले भने, ‘केही साथी यसो जम्मा भएर चिया–कफी खाएको मात्रै हो ।’ दिउँसो ४ बजेदेखि छलफलमा जुटेका यी नेताहरू करिब साढे ८ बजेसम्म बसेका थिए । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्