Logo

एमसीसीबारे नेकपा नेतालाई प्रस्ट्याउँदै ब्रुक्स



काठमाडौँ, २८ माघ । नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग एमसीसीसँगको अनुदान सम्झौताबारे सोमबार छलफल गरेका छन् ।

संघीय संसद् सचिवालयमा दर्ता भएको सम्झौता अनुमोदनका लागि लबिइङ गर्न काठमाडौं आएका ब्रुक्स नेता खनाललाई भेट्न सोमबार उनकै निवास डल्लु पुगेका थिए । खनाल उक्त सम्झौताबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्न पार्टीद्वारा गठित कार्यदलका संयोजक हुन् । पुस १९ मा सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो । छलफलमा खनालले कार्यदल सदस्य भीम रावल र आफ्ना परराष्ट्र सल्लाहकार मिलन तुलाधरलाई पनि सामेल गरेका थिए । अर्का सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने उक्त छलफलमा बोलाइएको थिएन । ब्रुक्सले ज्ञवालीसित आइतबार छुट्टै भेट गरिसकेका छन् । ब्रुक्सले आफ्नो भ्रमणमा एमसीसी सम्झौता नेपालकै हित र विकासको पक्षमा रहेको दाबी गर्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडालाई भेटेका थिए । ओली, ज्ञवाली र खतिवडाले ब्रुक्ससँग संसद्को चालु अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सत्तारूढ दल नेकपाभित्र यो सम्झौतालाई अनुमोदन गरेर अनुदान सहयोग लिने कि नलिने भन्ने विवाद भइरहेको अवस्थामा ब्रुक्सले नेपाल भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संसद्बाट सम्झौता पारित हुने दोहोर्‍याउँदै आए पनि नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेताहरूले नै आलोचना गर्न थालेपछि कार्यदल गठन गरिएको हो । कार्यदललाई माघ २९ मा सुझावसहितको निचोड बुझाउन समयावधि तोकिएको छ । खनाल निवासमा भएको छलफलमा नेता रावलले एमसीसीका सहायक अध्यक्ष ब्रुक्ससँग एमसीसी सम्झौताका एकपछि अर्को विषयमा प्रस्ट पार्न आग्रह गरेका थिए । ब्रुक्सले खनाल र रावलसामु सम्झौता, यसका प्रक्रिया र एमसीसीको सम्पूर्ण पक्षबारे प्रस्ट्याएका थिए । कान्तिपुरसँग कुरा गर्दै नेता खनालले एमसीसी सम्झौताका बारेमा विस्तृतमा छलफल भएको जानकारी दिए । ‘सम्झौताका विषयमा थुप्रै कुरा सुन्यौं, अब हामीले सबै कुरा प्रतिवेदनमा ल्याउनेछौं,’ उनले भने । खनालले कार्यदलले काम गरिरहेको र आवश्यक परे सचिवालयको बैठकले समय अवधि थप्न सक्ने बताए । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्