Logo

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या एक हजार भन्दामाथि



२८ माघ : चीनमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार भन्दा बढी पुगेको छ । सोमबार मात्र उक्त भाइरसको संक्रमणबाट १०८ मानिसको मृत्यु भएको हो । सो तथ्यांक एकै दिनमा सबैभन्दा ठूलो संख्या हो । भाइरसबाट मंगलबारसम्म संक्रमणमा पर्नेको संख्या ४३ हजार एक सय पुगेको जनाइएको छ ।

गत डिसेम्बरबाट फैलिएको संक्रमणले नियन्त्रण भने पाउन सकेको छैन । आइतवार ९७ जनाको मृत्यु भएकोमा सोमवार मृत्यु हुनेको संख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । सोमवार मृत्यु भएकामध्ये १०३ जना हुपेई प्रान्तका संक्रमित रहेका थिए ।

कोरोना भाइरसबाट मर्नेको संख्या नरोकिएपछि थप प्रभावकारी कदम चाल्न चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमवार त्यहाँका स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट दैनिक रुपमा मर्नेको संख्या बढिरहेको छ । एजेन्सीहरुका अनुसार भाइरस कम्तिमा पनि २७ देश र क्षेत्रमा फैलिएको छ । ती देशमा ३३० भन्दा बढी संक्रमित छन् भने चीनबाहिर भाइरसका कारण मर्नेको संख्या हालसम्म दुई पुगेको छ ।

उक्त भाइरसबाट सकेसम्म छिटै जित्न सक्ने विश्वास चीनका राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकले दिलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्