माघ २८, काठमाण्डौ । यतिबेला प्रेम दिवस सप्ताह चलिरहेको छ । फागुन २ गते प्रेम दिवस । दिवसमा सबैभन्दा बढि प्रयोग हुने गुलाफ फूलको कारोबार बढेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष नेपालमा २० प्रतिशत बढि कारोबार हुने भएको छ । स्वदेश उत्पादन बढ्न नसक्दा कूल खपतको ७५ प्रतिशत गुलाफ फूल भारतबाट आयात हुने गरेको छ ।
पछिल्लो समयमा नेपालमा पनि भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक–अर्कामा प्रेम भाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । उपहारको रुपमा सबैभन्दा बढि गुलाफको फूल दिइने पर्व हो प्रेम दिवस । दिवसका लागि प्रयोग हुने गुलाफ फूलमध्ये ७५ प्रतिशत भारतबाट आयात हुने गरेको छ । नेपालको उत्पादनले २५ प्रतिशत मात्रै माग पूर्ति गर्ने गरेको छ ।
कृषि प्रधान देश भएर पनि कृषि उत्पादनमा ठूलो हिस्सा भारतको भर पर्नुपर्ने अवस्था रहिरहेको छ । यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) का लागि भारतबाट करिब एक करोड मूल्य बराबरको गुलाबका फूल आयात भएको छ । नेपाल फ्लोरिकल्चर एसोसियसनलेका अनुसार यसवर्ष २ लाख पिस गुलाफको माग रहेको छ । जसमध्ये ५० हजार स्वदेशमै उत्पादन हुन्छ भने बांकी १ लाख ४० हजार भारतबाट आयात गरिने नेपाल फ्लोरिकल्चर एसोसियसनका संयोजक जगं बहादुर तामाङ बताउँछन् ।
गत वर्षको तुलनामा यसवर्षको प्रेम दिवसमा गुलाफ फूलको माग २० प्रतिशले बढेको छ । गत वर्ष करिब १ लाख ९० हजार गुलाब प्रणय दिवसका दिन खपत भएको थियो । संयोजक तामाङका अनुसार ५ देखि ७ हजार पिस गुलाब दैनिक माग हुने गरेकोमा प्रणय दिवसको एक हप्ताभरी २ लाख पुग्छ । नेपालमा पुष्प व्यवसाय विस्तार हुँदै गए पनि परम्पारगत खेति प्रणालीका कारण उत्पादन बढ्न नसकेको संयोजक तामाङ बताउँछन् ।
प्रेमको प्रतिकका रुपमा रातो गुलाफलाई लिइने भएकाले प्रेम दिवसमा सबैभन्दा धेरै रातो गुलाफकै माग हुन्छ । गुलाफ मार्फत प्रेमको भावना बुझाउन र एक–अर्कामा खुसी बाड्नकै लागि पनि यस दिन विश्वभरका प्रेमील जोडीहरुले आदानप्रदान गर्ने गर्छन् गुलाफ ।
https://www.youtube.com/watch?v=TO5n-2Y5QzI