माघ २८, काठमाण्डौ । सत्तारुढ दल नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । कुनै बेला जनयुद्ध शब्दसमेत सुन्न नचाहने प्रधानमन्त्री केपी ओली पनि यसपटकको दिवसमा सहभागि हुने भएका छन् । यसले पूर्व माओवादी र पूर्व नेकपा एमालेबीच भावनात्मक रुपमा नै एकता भएको सन्देश दिने विश्वास गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनयुद्ध दिवस पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मनाउने भएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी हुने भएका छन् । फागुन एक गते बिहान ९ वजे हुने कार्यक्रममा दुबै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।
२५ औँ जनयुद्ध दिवसका विषयमा छलफल गर्न मंगलबार विहान दुइ अध्यक्षबीच भेटवार्ता भएको थियो । विगतमा जनयुद्ध शब्द सुन्नै नचाहने प्रधानमन्त्री ओली अघिल्लो वर्षको दिवसमा सहभागि थिएनन् । पार्टी एकता भएपछिको पहिलो दिवसमा ओली सहभागि हुने भनिए पनि गएनन् । पोहोर ओली सहभागि नभएको चर्चा भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्टिकरण दिएका थिए । त्यसबेला सरकारको नयाँ कार्यक्रम घोषणा गर्ने तयारी भइरहेकाले ओली उपस्थित हुन नभ्याएको दाहालले बताएका थिए ।
त्यसबेला ओली निकट नेता तथा नेकपाका महासचिव विष्णु पौडेल सहभागि थिए । त्यसैगरी पूर्व एमालेका सुवासचन्द्र नेम्वाङ, भीम रावल, युवराज ज्ञवालीलगायत सहभागि थिए । २०५२ साल फागुनमा नेकपा माओवादीले तत्कालीन राज्यसत्ताविरुद्ध हिंसात्मक सङ्घर्ष थालेको थियो । ‘माओवादी जनयुद्ध’ नाम दिएको सशस्त्र आन्दोलन २०६३ विसर्जन भएको थियो । त्यसपछि नेपालमा धेरै राजनीतिक परिवर्तन भए । जसको धेरैजसो श्रेय जनयुद्ध गर्ने दल माओवादीलाई जाने गर्दछ ।
तर २०७५ जेठ ३ गते नेकपा एमालेसँग विधिवत् पार्टी एकता गरेपछि माओवादी नेतृत्वमा सञ्चालित ‘जनयुद्ध’ इतिहासको कित्तामा उभिन पुगिसकेको छ । अर्थात जनयुद्ध गर्ने दल अस्तित्वमा नै छैन भन्दा फरक नपार्ला । शान्तिपूर्ण राजनीतिको कोर्षमा आइपुगेपछि माओवादीले जनयुद्ध दिवस मनाउँदै आइरहेको छ । कुनै समय जनयुद्ध दिवस मनाउँदा माओवादीले खुलामञ्चमा ‘मानव सागर’ उताथ्र्यो । साताव्यापी कार्यक्रम गथ्र्यो । तर अहिले अवस्था त्यस्तो छैन ।
जनयुद्ध गर्ने तत्कालिन माओवादीका मुख्य नेताहरु दाहाल, मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायतका नेताहरु तितरवितर भइसकेका छन् । बरु जनयुद्ध शब्द सुन्नै नचाहने केपी ओली भने अब त्यही जनयुद्धको सम्झनामा मनाईने दिवसमा उपस्थित हुने भएका छन् । २०७४ सालको जनयुद्ध दिवस पूर्व माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा मनाइएको थियो । त्यसबेला पूर्व एमाले नेतालाई पनि निम्त्याइएको थियो । तर कोही पनि सहभागि भएनन् ।
एक पटक हतियार उठाए पछि जनताको मुक्ति नभएसम्म बिसाइने छैन भन्ने घोषणा गरेर २०५२ साल फागुन १ गते जनयुद्धको शुरूवात गरिएको थियो । रोल्पाको होलेरी, रुकुमको राडि र सिन्धुलिगडि प्रहरी चौकीमा भरुवा बन्दुकका भरमा आक्रमण गरेर शुरु भएको जनयुद्धले एक दशकमा सन्सारमा ठुलो उथलपुथल मच्चायो । गरिब, किशान, मजदुर, उत्पीडित जाति, छेत्र, लिङ्ग र समुदायले आफ्नो मुक्तिको सपना देखेर जनयुद्धमा साथ दिए ।
सत्र हजार मानिसले ज्यान गुमाउन पुगे । यसले देशमा माओवादीले भनेको जनवादी ब्यबस्था आउँछ भन्ने ठुलो आशा जागेको थियो । तर अझै पनि जनयुद्धको औचित्यमाथिको बहस भने टुङ्गिएको छैन ।