नयाँ दिल्ली, २९ माघ । सत्ताधारी दल आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभामा लगातार तेस्रो पटक सरकार बनाउने भएको छ। मंगलबार सार्वजनिक मतपरिणाममा स्पष्ट दुईतिहाई सिट आएपछि आपले लगातार तेस्रो पटक सरकार बनाउने भएको हो।
विधानसभामा चुनावी नतिजा सार्वजनिक भएका ६८ सिटमध्ये आपले ६० सिटमा विजयी हासिल गरेको छ। यस्तै, भारतीय जनता पार्टी (भाजपा)ले ८ सिटमा जित निकालेको छ। मतगणना चलिरहेका बाँकी २ सिटमध्ये आपले २ सिटमा अग्रता बनाएको छ। दिल्ली विधानसभामा ७० सिट छन्। नयाँ दिल्ली सिटमा आप संयोजक एवं दिल्लीका मुख्यमन्त्री केजरीवाल भारी मतले विजयी भएका छन्। उनले भाजपाका सुनीलकुमार यादवलाई २१ हजार ६ सय ९७ मतअन्तरले पराजित गरे। केजरीवालले ४६ हजार सात सय ५८ मत पाउँदा यादवले २५ हजार ६१ मत ल्याए।
चुनावमा आपले लगातार दोस्रो पटक दुईतिहाई बहुमत पाएको छ। दिल्ली विधानसभामा दुईतिहाई बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। मतगणनाको प्रारम्भिक नतिजाकै क्रममा अग्रता देखिएपछि आपका राष्ट्रिय संयोजक तथा मुख्यमन्त्री अरविन्द केजरीवालले आइटिओस्थित पार्टी मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले आफ्नो पार्टीलाई बहुमत दिएकोमा दिल्लीका मतदातालाई ‘आई लभ यु’ भनेका छन्।
(नागरिक दैनिकबाट)