Logo

स्थानीय उत्पादन खान नजान्दा कुपोषण



काठमाडौँ, १ फागुन । किशोर उमेरमै पहिलो पटक आमा बनेकी रेवती सार्कीको पहिलो सन्तान तीन वर्षका भए । नौ महिनाअघि दोस्रो पटक उनले एकै पटक एक छोरा र एक छोरीलाई जन्म दिएका थिए । स्वस्थ जन्मिएका जुम्ल्याहामध्ये अहिले छोरीलाई कुपोषण भयो ।

छोरा भने स्वस्थ र निरोगी छन् । कुपोषण भई तौल कम भएकी पाँच किलोग्रामकी छोरीसहित सार्की यति बेला पोषण पुनस्र्थापना केन्द्रमा छन् । छोरी कसरी कुपोषित भइन् भन्ने कुरा यी २२ वर्षीया आमालाई थाहा छैन । कुपोषण पुनस्र्थापना केन्द्रमा पोषण र हेरचाह पाएपछि उनकी छोरीको तौल विस्तारै बढिरहेको केन्द्रका अनमी पार्वती ओझाले बताएका छन् ।  डोटी जिल्लाको गैराकी २१ वर्षीया डम्बरी ओली दोस्रो पटक आमा बनेको ११ महिना भयो । उनको पहिलो छोरी चार वर्षकी भइन् । दोस्रो छोरी भने कुपोषणका कारण कम तौलकी छन् । “खोप लगाउन जाँदा छोरीको तौल कम भएको थाहा पाएँ”, एक वर्ष पुग्नै लाग्दा पनि जम्मा छ किलोकी छोरी लिएर पोषण पुनस्र्थापना केन्द्र आएकी ओलीले भने ।

खेतीपाती गर्ने ओलीको परिवारमा खानेकुराको अभाव छैन । घरमै अन्न, गेडागुडी, हरिया सागपातलगायत पोसिला वस्तु खुवाउन सकिन्छ । “बच्चाले खाँदैन भनेर खानेकुरा खुवाइएन । आफ्नै घरको खानेकुरा पनि मिलाएर खुवाए हुने रहेछ”, ओलीले भने, “यहाँबाट बच्चालाई खानेकुरा बनाउन सिकेको छु । अब घरमै खुवाउँछु । ” शिशुलाई जन्मेको छ महिनापछि पोसिलो अन्न खुवाए कुपोषणबाट बचाउन सकिने रहेछ भन्ने कुरा कुपोषण पुनस्र्थापना केन्द्र आएर थाहा पाएको उनले बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्