भक्तपुर,फागुन १ । सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्। चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्रलगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार डेरामा बस्ने धेरै परिवार डेरा छाडेर सरिसकेका छन्। उद्धार गरिएका नेपाली त्यहाँ राख्न ल्याउने निश्चित भएसँगै उनीहरू क्वारेन्टाइनमा राखिएकाहरू घर फर्किएपछि मात्रै फर्किने भन्दै गाउँतिर फर्किएका हुन्। स्थानीय लक्ष्मण काफ्लेले घर भएकाहरूसमेत बसाइँसराइको योजनामा रहेका बताउँछन्। ‘हामी पनि बसाइँ सर्न चाहन्छौं तर डेरामा बसेकालाई जस्तो सजिलो भने छैन,’ उनले भने, ‘गाईबस्तु पनि छन्, तिनलाई कहाँ राख्ने भन्ने चिन्ता छ।’
क्वारेन्टाइन राख्ने भनिएको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् तालिम केन्द्र आसपास सयभन्दा बढी घर छन्। सरकारले साता दिनअघिबाटै प्रहरी टोली खटाएर उद्धार गरिएकालाई त्यहीं राख्ने तयारी गरिरहेको छ। यसकारण अहिले त्यो विद्युत् तालिम केन्द्रको गेटदेखि नै प्रहरी राख्ने व्यवस्था गरिएको छ। नागरिक दैनिकबाट